कञ्चनका इसानको मृत्यु गाडीको ठक्करबाटः रूपन्देही प्रहरी


भैरहवा– रुपन्देहीको कञ्चन गाउँपालिका–३, धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्यु हत्या नभई गाडीको ठक्करबाट भएको प्रहरीले स्पष्ट पारेको छ । परिवारले इसानको मृत्युलाई शंकास्पद भनिरहेका बेला प्रहरी अनुसन्धानले भने गाडीको ठक्करबाट भएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले विज्ञप्ति जारी गरी पुस २ गते नालीमा बेहोस अवस्थामा फेला परेका इसानलाई आफन्तहरुको उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको र चिकित्सकले मृत्यु भएको जानकारी गराएको बताएको छ ।
‘इसानको मृत्युको घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको देखिन्छ’, प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दा लु २ ख ४९४८ नं को फोर्स गाडीले ठक्कर दिई भागी सोही दिन बुटवल उपमहानगरपालिका–२, मैनाबगरमा लुकाइछिपाइ मर्मत गरी पुनः सञ्चालन गरेको पत्ता लागेको विज्ञप्तिमा जनाएको छ ।
उक्त गाडीलाई पुस ७ गते प्रहरी परिचालन गरी बागलुङबाट बुटवल आउने क्रममा बुटवल उपमहानगरपालिका–३, गोलपार्कबाट सवारी चालक नियन्त्रणमा लिइएको र अन्य थप दुई जनालाई निजको घरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुस २ गते इसान सम्पर्कविहीन भई खोजतलास गर्दै जाँदा ३ गते स्थानीय धौलागिरि चोक र सुनगाभाचोकको बीचमा रहेको फायरलाइन–लुम्बिनी सडक खण्डको नालीमा बेहोस रहेको फेला परेको सूचना प्राप्त भएको थियो । त्यसपछि तत्काल प्रहरी घटनास्थलमा पुग्दा उनलाई आफन्तहरुले नालीबाट निकाली उपचारका लागि एम्बुलेन्समा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
प्रहरीले इसानलाई ठक्कर दिई फरार चालक बागलुङ बरेङ गाउँपालिका छिसा घर भई हाल रुपन्देहीको कञ्चन गाउँपालिका–४, थकालीचोक बस्ने सन्तोष क्षेत्री, सवारी भगाउन सहयोग गर्ने रुपन्देही सैनामैना नगरपालिका–५ बस्ने दीपेन्द्र भण्डारी क्षेत्री र सोही ठाउँका सन्देश क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले परिवारले शंकास्पद मृत्यु भएको भने पनि घटनास्थलको सीसीटीभी फुटेज लगायत अनुसन्धान गर्दा गाडीले ठक्कर दिएको पुष्टि भएको दावी गरेको छ । घटनालाई अन्यत्र नमोड्न प्रहरीको अनुरोध छ । यस्तै, प्रहरीले सवारी चालकले समेत आफूले चलाएको गाडीले ठककर दिएको स्वीकार गरिसकेको बताएको छ ।








प्रतिकृया दिनुहोस्