June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध अगाडि बढाएर विश्वास आर्जन गरौं र विमानस्थल चलाऔंः मुख्यमन्त्री आचार्य

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार गौतमबुद्ध विमानस्थल परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको जनाए ।

Advertisement

संघीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘आज म यही मञ्चबाट संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, लुम्बिनी प्रदेशमा जुन लक्ष्य र उद्देश्य राखेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो यसलाई नियमित सुचारु गर्नको निम्ति प्रदेश सरकारको तर्फबाट जोडदार रुपमा आवाज उठाउन चाहन्छु’, उनले भने, ‘किन की आज यही कारणले भोली हाम्रा व्यवसायी धरासायी हुनुहुँदैन । अन्तर्राष्ट्रिय कूटनीतिक सम्वन्ध अगाडि बढाएर, विश्वास आर्जन गरेर यो विमानस्थल सुचारु गर्न जरुरी छ, गरिनुपर्छ । त्यसको निम्ति प्रदेश सरकारबाट के कती जिम्मेवारी लिनुपर्ने हो हामी तयार छौं ।

मुख्यमन्त्री आचार्यले परिणाममुखी ढंगले काम गर्न प्रदेश सरकार तयार रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस समाधान हुन नसकेको उल्लेख गरे । उनले संघीय सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा राखिएको लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।

विमानस्थल नचल्दा स्थानीय व्यवसायी धरासायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गरी विश्वास निर्माण गर्नुपर्ने उनको भनाइ थियो । आवश्यक परे प्रदेश सरकारले जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति दिने कार्यालय यही स्थापना गर्न, स्वास्थ्य जाँच प्रदेश सरकारले गर्ने समेत प्रस्ताव राखेको स्मरण गरे। तर, संघीय सरकारले यस सम्वन्धि अधिकार नदिँदा ती काम अघि बढ्न नसकेको उनले बताए ।

मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय स्तरका ट्राभल एजेन्सीहरूलाई भैरहवा ल्याउन, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न र जहाज खाली नभई यात्रु भरिएर आउन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पुर्याउँदै पर्यटक आकर्षित गर्नुपर्ने उनको भनाई छ ।

लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले प्रदेश सरकारले निरन्तर पहल गरिरहेकाले विमानस्थल छिट्टै नियमित संचालनमा आउने विश्वास व्यक्त गरे । उनले जिनी क्षेत्रको लगानी सुरक्षित गर्नुपर्नेमा समेत जोड दिए ।

विमानस्थलका निमित्त महाप्रवन्धक श्यामकिसोर साहले काठमाडौंस्थित त्रिभुवन विमानस्थलभन्दा सुविधा र प्रविधिका हिसावले गौतमबुद्ध विमास्थल एक कदम अगाडि रहेको बताए । २०७९ जेठ २ गतेबाट सञ्चालना आएको विमानस्थलबाट नियमित उडान सञ्चालन नहुँदा निराशा छाएको बताए । ‘तर त्रिभुवन विमानस्थलको यात्रुको चाप भैरहवाले शेयर गर्न सकेको छैन,’ उनले भने, ‘हवाई कम्पनीलाई विभिन्न सेवामा छुट दिँदासमेत आकर्षित भइरहेका छैनन् ।’ सरकारले भैरहवालाई कार्गो हब बनाउने नीति लिए पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

विमानस्थलबाट नियमित उडान सञ्चालनका लागि सरकारलाई अनुरोध गर्नेदेखि कुटनीतिक पहल भइरहेकाले सन् २०२६ को अन्त्यसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको संख्या बृद्धि हुने उनले बताए । ‘अर्को वर्ष वार्षिकोत्सव आयोजना गर्दा हामी अन्तर्राष्ट्रिय उडान बिहीन हुने छैनौं,’ उनले भने, ‘हामीले कतारी दूतावासका साथै भारतका विभिन्न सहरमा उडान सञ्चालनका लागि पहल गरिरहेका छौं ।’

विमानस्थल सञ्चालन महाशाखा प्रमुख मुरारीप्रसाद पौडेलले गत कार्तिक ९ गतेबाट थाइ एयर एसियाले भैरहवा–बैंकक सातामा दुई दिन उडान भरिरहेको जानकारी दिए । त्यसबाहेक नेपालले कतार सरकारलाई उपहार प्रदान गरेका दुई हात्तीलाई पनि कतार एयरवेजको जहाजमार्फत् भैरहवाबाटै पठाइएको थियो । यसबाट भैरहवामा ठूला जहाजले सेवा दिन सक्ने पुष्टि भएको उनले बताए । ‘भैरहवामा निजी क्षेत्रलेमात्र होइन, सरकारले पनि अर्बौं लगानी गरेको छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालन नभए निजी क्षेत्रमात्र होइन सरकार पनि डुब्ने अवस्था छ ।’ त्यसैले जतिसक्दो छिटो विमानस्थल चलाउन ‘एभिएसन डिप्लोमेसी’ अपनाउनु पर्ने उनले बताए ।

नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले विमानस्थल दिगो सञ्चालनका लागि व्यवसायीको तर्फबाट हातेमालो गर्न तयार रहेको बताए । गौरबको आयोजना खेर जानु राज्यका लागि पनि चिन्ताको विषय भएको उनले जनाए । सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले नियमित उडान हुन नसकेकोमा चिन्ता व्यक्त गरे । नियमित उडानका लागि बारम्बार दबाब र आन्दोलनका कार्यक्रम आयोजना गरे पनि सुनुवाई नभएको बताए । ‘कुनैबेला दिनकै पाँचवटा उडान पनि थिए,’ उनले भने, ‘अहिले एउटा पनि छैन । यसको कारण के हो ?’

सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दीलीपकुमार कान्दुले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाका लागि तयार रहेको बताए । विमानस्थल सञ्चालन नहुँदा सरकार र निजी क्षेत्रको लगानी डुब्ने अवस्थामा पुगेका कारण सबै सरोकारवाला एकजुट भएर सञ्चालनका लागि लाग्नुपर्ने बताए । वार्षिकोत्सव समारोहमा विमानस्थल भित्रका कार्यालय प्रमुख, उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, सरकार कार्यालय र सुरक्षा प्रमुखको सहभागिता थियो । कार्यक्रममा वार्षिकोत्सव अवधिमा आयोजना गरिएका विभिन्न खेलका बिजेता र उपविजेतलाई पुरस्कृत गरिएको थियो ।