एमाले छाडेका बासुदेव घिमिरे बालेनसँग निरन्तर सम्पर्कमा


भैरहवा– नेकपा एमाले परित्याग गरेको घोषणा गरेका रुपन्देहीका नेता बासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारी गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपा प्रवेश गरेको राजनीतिक घटनाक्रम पछिको बिकसित रुप नेकपा एमालेका नेता घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा पुगेका हुन् ।
रूपन्देही–५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद घिमिरेले मंगलबार राति सामाजिक सञ्जाल मार्फत् एमाले छाडेको घोषणा गरिसकेका छन् । घिमिरेले एमाले पार्टीको कुनै जिम्मेवारीमा नरहेको घोषणा समाजिक सञ्जालमा गरेका छन् ।
‘उहाँ (घिमिरे) रास्वपामा जाने तयारी हो । यो राजनीतिक घटनाक्रम बालेन शाह रास्वपामा प्रवेश गरेपछिको बिकसित रुप हो’, बासुदेव निकट पत्रकार बेलप्रसाद (वीपी) गौतमले पब्लिक कुरासँग भने, ‘उहाँ रास्वपाका नेताहरुसँग र बिशेष गरि बालेन शाहसँग निरन्तर सम्पर्कमा हनुहुन्छ ।’ घिमिरे रास्वपामा चाँडै नै प्रवेश गर्ने गौतमले बताए ।
बासुदेव निकटका अनुसार पछिल्ला दिनमा उनी निरन्तर बालेनको सम्पर्कमा छन् । ‘हुनतः घिमिरे र बालेनको सम्बन्ध पहिल्यैदेखि राम्रै हो’, बासुदेव निकट एक नेताले भने, ‘बालेन सक्रिय राजनीतिमा आएपछि बासुजी पनि रास्वपामा प्रवेश गर्न लाग्नुभएको हो ।’
तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख समेत रहेका घिमिरे एमालेको हालै सम्पन्न ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको जनाउँदै उनले आफ्नो फेसबुक स्टाटसमा देशको आवश्यकता, इतिहासको गति, आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार भएको कारण उल्लेख गरेका छन् ।
देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको र पुराना दलहरूका मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको उनले जनाएका छन् ।
पब्लिक कुरासँगको फोन सम्पर्कमा आएका नेता घिमिरेले एमालेको ११ औं महाधिवेशनबाट पुरानै नेतृत्व आएकोप्रति असन्तुष्टि जनाउँदै मलुक फेरि आठ–दश वर्षलाई खाडलमा जाने सम्भावना देखेकाले आफू एमालेबाट बहिर्गमन भएको कुरा बताए ।
जेनजी आन्दोलन भएपछि नै आफू एमाले छाड्ने तयारीमा पुगेर सामाजिक सञ्जालमा पार्टी छाडेको घोषणा लेखेर ठिक्क पारे पनि केही साथीहरुले यो हतार नगर्न भनेर आफूलाई भनेकाले रोकिएको उनले बताए ।
‘पार्टीको महाधिवेशनबाट अध्यक्षसहित नेतृत्व परिवर्तन होला र पार्टीलाई हेर्ने सर्वसाधारणको दृष्टिकोणमा परिवर्तन आउला भनेको घुमिफिरी हिजैको नेतृत्व आएपछि मलुक फेरि आठ–दश वर्षलाई खाडलमा जाने अवस्था देखियो’, घिमिरेले भने, ‘त्यही पार्टीमा बसेर साक्षी बस्नु भन्दा अहिलेको नयाँ पिँढीको मागलाई सम्बोधन गर्नलाई पार्टी छाड्ने निर्णय गरेको हुँ ।’
तपाईं रास्वपामा जाने तयारी गर्नु भएको हो ? भन्ने पब्लिक कुराको प्रश्नमा, घिमिरेले चुनावको मुखमा पार्टी छाड्नुले रास्वपामा प्रवेश गर्ने चर्चा आउनु स्वभाविक भए पनि निर्णय गरिनसकेको बताए । ‘रास्वपाबाट पार्टी प्रवेशका निम्ति प्रस्ताव आइरहेको छ तर निर्णय भने गरिसकेको छैन’, उनले भने ।
घिमिरे तिलोत्तमाको नगर प्रमुख हुँदा बालेन यहाँ आएर हप्ता दिनसम्म बसेर बासुदेवले गरिरहेको कामको सिको गरेको बताइन्छ । यही कारण बालेनले एक टेलिभिजन अन्तर्वार्तामा बासुदेवले तिलोत्तमामा राम्रो काम गरेको बताएका थिए ।
हुनतः बासुदेवले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा हुँदा त्यहाँ पुगेर रविलाई भेटेका थिए । जवकी त्यतिबेला उनी बहालवाला प्रतिनिधिसभा सदस्य थिए । रविलाई भेटेपछि उनले रास्वपा प्रवेश गर्ने मनस्थिति बनाएको बताइन्छ । रविलाई कारागारमै भेट्ने एमाले नेताहरुमा बासुदेव मात्रै सबैभन्दा माथिल्लो तहको नेता रहेको चर्चा त्यतिबेला चलेको थियो ।
रास्वपाका अन्य नेताहरुमा भन्दा बालेनसँग निकै निकट रहेका बासुदेव रास्वपा प्रवेश गरेर रुपन्देही–२ बाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन लड्ने बताइएको छ । तर, यसबारे बासुले भने केही खुलाएनन् । पछिल्लो समय एमाले छाडेर रास्वपा प्रवेश गर्ने बढीरहेका छन् । यसअघि एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्की रास्वपा प्रवेश गरेका थिए ।








प्रतिकृया दिनुहोस्