लुम्बिनी लायन्सको आज बुटवलमा कन्सर्टसहित भव्य विजयोत्सव


भैरहवा– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता टोली लुम्बिनी लायन्सले आज बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट आयोजना गरेको छ । दोस्रो संस्करणको एनपीएल जितेको लुम्बिनी राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु ल्याएर सेलेब्रेसन गर्न लागेको हो ।
सेलेब्रेसन कन्सर्ट अन्तर्गत पुस १६ गते (आज) बुटवलस्थित बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर (बीआईससीसी) मा साँझ ५ देखि १२ बजेसम्म बृहत् कन्र्सट कार्यक्रम आयोजना गरिएको अध्यक्ष ईश्वर जिसीले जानकारी दिए ।
लुम्बिनीले मंगलबार मात्रै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ट्रफी टूर गराइसकेको छ । प्रदेशका धार्मि तथा ऐतिहासिक, धार्मिक तथा महत्वपूर्ण स्थानमा ट्रफी टूर गराइसकिएको छ । लुम्बिनी लायन्सका अध्यक्ष जिसीले लखेलाडीहरूको अपार मिहिनत, आत्मविश्वास तथा समर्पणसँगै समर्थकहरूको निरन्तर साथ, विश्वास र मायाकै कारण एनपीएलको दोस्रो संस्करण जितेको बताए ।
मंगलबार भैरहवामा आयोजित सेलेब्रेसन कार्यक्रममा उनले भनेका थिए, ‘आज यो सफलता सम्भव बनाउन खेलाडीसँगै सबैको साथले काम गरेको छ । हामी सबै मिलेर यो विजय उत्सव भव्य तरिकाले मनाऔँ र यसलाई अझ गर्विलो क्षण बनाऔं भन्नका लागि आज कन्सर्ट राखिएको हो ।’
लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टूर सकेर आज अन्तिम दिन भव्य कन्सर्ट गर्ने गर्न लागिएको उनले जनाए । ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टूर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला तथा ती जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरूको भ्रमण सकिएको छ’, उनले भने, ‘यस क्रममा भ्रमण तथा आशीर्वाद ग्रहण गर्दै नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने प्रयास गरेका छौं ।’ उनले क्रिकेटसँग जोडिएका सबै समर्थकहरूको सम्मान गर्नु र स्थानीय ठाउँलाई प्रवद्र्धन गर्न ट्रफी टूर गरिएको बताए ।
सम्पूर्ण जिल्लामा ट्रफी सेलेब्रेसन टुर सम्पन्न भएपछि बुटवलमा चर्चित कलाकारहरू, लुम्बिनी लायन्सका खेलाडी तथा व्यवस्थापन टोली, साथै नेपाली क्रिकेटलाई यो स्थानसम्म ल्याउन अमूल्य योगदान दिएका क्रिकेट लेजेन्डहरूको विशेष उपस्थितिमा भव्य च्याम्पियन्स सेलेब्रेसन कन्सर्ट आयोजना गरिएको उनले बताए ।
उक्त अवसरमा सबै एकै मञ्चबाट नयाँ वर्षको स्वागत गर्दै ऐतिहासिक सफलताको उत्सव सामूहिक रूपमा मनाइनेछ । कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी इलेमेन्ट्स ब्याण्ड, बद्री पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल र तेरिया पुन मगरले आफ्नो प्रस्तुति दिनेछन् ।
च्याम्पियन्स ट्रफी सेलेब्रेसन टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएर यही १५ गते सकिएको छ । अंग्रेजी नयाँ वर्ष ईभको अवसर पारे कन्सर्ट आयोजना गरिएको हो । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । आज हुने कन्सर्टका लागि इसेवाबाट टिकट खरिद गर्न सकिनेछ । कन्सर्ट हेर्न ५०० र १००० मूल्यको टिकटदर तोकिएको छ ।








प्रतिकृया दिनुहोस्