काँग्रेसको समानुपातिक सूचिमा छैन प्यूठान र पूर्वीरुकुमको प्रतिनिधित्व


भैरहवा– नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचिमा राष्ट्रपति र पूर्वराष्ट्रपतिका आफन्त अटाउँदा लुम्बिनी प्रदेशका दुई जिल्ला प्यूठान र रुकुमपूर्वबाट भने कुनै प्रतिनिधित्व नभएको पाइएको छ ।
कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा यी दुई जिल्लासँगै १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ ।
लुम्बिनीका दुई जिल्लाको प्रतिनिधित्व नभएपछि काँग्रेसमा आलोचना समेत भइरहेको छ । प्यूठानमा काँग्रेस बलियो मानिन्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्दै सरोज थापा (रोज) मन्त्री समेत छन् । तर, प्यूठानलाई काँग्रेसले समानुपातिक सूचिमा प्रतिनिधित्व नगराएर अन्याए गरेको पूराना नेता चन्द्रप्रसाद शर्माले बताए ।
‘काँग्रेसले प्यूठानलाई अन्याए गर्यो’, उनले भने, ‘संगठन राम्रो छ । यसपटक पार्टीले जित्ने सम्भावना पनि बलियो छ । तर, यसरी जिल्लालाई अन्याय गर्दा आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा समेत असर पुग्ने पक्का देखिन्छ ।’
बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्लाबाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन । यस्तै कोशी र गण्डकी प्रदेशबाट तीन–तीन, लुम्बिनीका दुई तथा कर्णालीको एक जिल्लाले कांग्रेसको बन्दसूचीमा स्थान पाएको छैन ।
कांग्रेसले बागमतीका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन, कोशीका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूर्वीरूकुम र प्यूठान तथा कर्णालीको जुम्लाबाट कसैलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छैन । कांग्रेसको बन्दसूचीमा मधेश र सुदूरपश्चिम प्रदेशबाट भने सबै जिल्लाको प्रतिनिधित्व भएको देखिन्छ ।








प्रतिकृया दिनुहोस्