June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

एनपीएल ट्रफी टूर भैरहवामा, सिद्धार्थ रंगशालामा सेलिब्रेसन

Advertisement

भैरहवा– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टूर भैरहवा आइपुगेको छ । च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा ट्रफी टूर अन्तर्गत मंगलबार भैरहवा ट्रफी ल्याइएको हो । बिहान बुद्ध जन्मस्थल लुम्बिनी लगेर ट्रफी दिउँसो भैरहवास्थित सिद्धार्थ रंगशालामा ल्याएर सेलिब्रेसन गरिएको हो ।

Advertisement

रंगशालामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले ट्रफीसहित सहभागी विजेता टीम लुम्बिनी लायन्सलाई स्वागत गरे । ट्रफी सेलिब्रेसन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेय, नगर प्रमुख खाँ, उपप्रमुख उमा अधिकारी, संघका अध्यक्ष थापा, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले क्रिकेटले नेपाललाई चिनाएका जनाए । उनीहरुले लुम्बिनीले यसपटक ट्रफी जितेकामा प्रदेशबासी हर्षित भएको भन्दै यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे ।

एनपीएल विजेता लुम्बिनी लयान्सलाई लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ११ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, क्रिकेटप्रेमी, सर्वसाधरण लगायतको उपस्थिति थियो । रुपन्देहीमा ट्रफी टूर गराएसँगै लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट आयोजना समेत गरेको छ । बुटवलस्थित बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर (बिआइसिसी) मा साँझ ५ देखि १२ बजेसम्म कन्सर्ट हुँदैछ ।

कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी ईलेमेन्ट्स ब्याण्ड, बद्री पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल र तेरिया पुन मगरले आफ्नो प्रस्तुती दिनेछन् । च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला तथा ती जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुको भ्रमण गराइएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष जिसीले खेलाडीहरुको अपार मिहिनत, आत्मविश्वास तथा समर्पणसँगै समर्थकहरुको निरन्तर साथ, विश्वास र मायाकै कारण सफलता सम्भव भएको जनाए । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।