June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

उद्यम र राजनीतिबाट खारिएकी पुनम रास्वपाको समानुपातिक सूचिमा

Advertisement

भैरहवा– भैरहवाकी युवा उद्यमी पुनमकुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्ममेदवारमा सिफारिस भएकी छन् । रास्वपाले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सूचीमा उनको नाम मधेशी महिलातर्फ एक नम्बर समावेश छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ निवासी उनी राजनीतिसँगै उद्यममा पनि सक्रिय महिला हुन् ।

Advertisement

अध्ययन र कामको अनुभवको आधारमा त उनी मेडिकल क्षेत्रमा संलग्न हुनु पर्ने हो । मेडिकल बायोलोजीमा स्नातकोत्तर तह अध्ययन गरेकी पुनम यो मुलुकमा लामो समयसम्म बिद्यमान राजनीतिक अस्थिरताले समाजको हरेक क्षेत्रमा गाँजेको बिकृतिलाई निर्मुल बनाउन राजनीतिमा पाइला चाल्न पुगेकी हुन् ।

‘२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएदेखि नै राजनीतिक क्षेत्र अस्थिर रुपमा गुज्रिँदै जानुको परिणाम राज्यको हरेक ठाँउमा बिभिन्न बिकृति र बिसँगतीले जरो गाड्दै जान थालेकाले हो’, पुनम भन्ने गर्छिन्, ‘यसको समाधान राजनीतिबाट भागेर, टाढा रहेर र राजनीतिलाई दोष दिँदै उम्केर होइन, राजनीतिक परिधिभित्रै रहेर सुधारको खोजी गरिनु आवश्यक छ ।’

राजनीतिक परिधिभित्रै रहेर राजनीति सुधार गर्नका लागि भने आफू स्वयंमा नैतिक इमान्दारिता पहिलो सर्त हुने भनाइ उनको छ । साढे दुई वर्षदेखि पार्टी सदस्य भएर काम गर्दै आएकी उनले पार्टी सिद्धार्थनगरको नगर सचिव समेत भएर काम गरिन् । यसअघि हुने भनिएको रुपन्देही–३ को उपनिर्वाचनको आकांक्षी समेत रहेकी उनी यसपटक भने समानुपातिकमा रास्वपाको मुख्य दावेदार हुन् । सोही अनुसार पार्टीले पनि उनलाई सिफारिस गरेको छ ।

रास्वपाले समानुपातिक उम्मेदवार छान्न देशभरका कार्यकर्ता सहभागी हुन पाउने गरी आन्तरिक मतदान गरेको थियो । जसमध्ये मधेशी महिला उम्मेदवारमा भैरहवाकी पुनमकुमारी अग्रवालले सर्वाधिक मत पाइन् । उनले १५ हजार ७४५ मत पाएर मधेशी महिलामा पहिलो बन्दा डा. अंकिता ठाकुरले १२ हजार ३२२, ममता शर्माले ११ हजार ६३०, सोनमती कुमारी यादवले ११ हजार १२०, कामिनी कुमारीले ११ हजार ३८, डा. अभिजित गुप्ताले १० हजार ४३७, जुली यादवले ९ हजार ९६२, पुनम साहले ९ हजार ७४२ र निशा मेहताले ९ हजार ६२५ मत पाएकी छन् । मतदानमा सर्वाधिक मत पाएकी अग्रवालले आन्तरिक प्रश्न उत्तरमा समेत उत्कृष्टता हासिल गरेकी छिन् । जसले गर्दा उनी रास्वपाबाट मधेशी महिलामा पहिलो नम्बरमा समानुपातिक सांसदका लागि सिफारिस भएकी छन् ।

लामो समयदेखिको मुलुकको राजनीति, नेतृत्व र विधिबारे अध्ययन गरेकी उनले पार्टीले अघि सारेका एजेण्डा, पार्टी सभापतिको कुशल नेतृत्व र मुलुकको विकासप्रतिको स्पष्ट दृष्टिकोणले गर्दा रास्वपा रोजेको बताउँछिन् ।

पुनम विगतमा एक राष्ट्रिय पार्टीका तर्फबाट सामानुपातिक सांसदको सूचिमा समते थिइन् । भने, सिद्धार्थनगरको प्रमुख (मेयर) मा समेत उम्मेदवार बनेकी थिइन् । यसले गर्दा उनको राजनीतिप्रतिको लगावलाई थप बलियो बनाएको मात्रै छैन, यहाँका मतदातासँग समेत घुलमिल गराएको छ ।

रास्वपाले यसअघि हुने भनिएको उपनिर्वाचनका बेला उम्मेदवार छान्दा होस् वा समानुपातिक उम्मेदवार छान्दा किन नहोस्, उनले साढे दुई वर्षकी छोरी बोकेर दौडिरहिन् । सुत्केरी अवस्थामा समेत उनले पार्टी राजनीतिलाई केन्द्रमा राखिन् । यही कारण पनि पार्टी भित्र र बाहिर उनको लोकप्रियता बढीरहेको छ । राजनीति र उद्यमलाई सँगै अगाडि बढाएकी उनी सफल उद्योगी समेत हुन् । उनको परिवारको लगानीमा रुपन्देहीको रोहिणीमा मुलुकको पहिलो अग्र्यानिक दानेदार मल उद्योग संचालित छ । विगतमा विभिन्न मेडिकल कलेजहरुमा पढाएको अनुभव रहेकी उनी प्रष्ट वक्ताको रुपमा समेत परिचित छन् । उनले राष्ट्रिय स्तरका सम्मान समेत पाइसकेकी छन् ।

रास्वपाकोतर्फबाट मधेशी महिलामा पहिलो नम्बरमा समानुपातिक उम्मेदवार सिफारिस भएपछि पब्लिक कुरासँग कुराकानी गर्दै उनले भनिन्, ‘म पार्टीको सिपाही हुँ, पार्टीको हीतमा काम गर्ने हो । मैले सुरुवातदेखि नै सोहीअनुसार काम गर्दै आएकी छु । यही भएर कार्यकर्ता र पार्टीले मेरो मूल्यांकन गरेको बुझेकी छु ।’