लुम्बिनी न्युज फेस्टिवलः १५ बुँदे लुम्बिनी घोषणापत्र जारी, कस्ता विषय समेटिए ?


भैरहवा– लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न भएको छ ।
पुस १२ गतेदेखि सुरु फेस्टिवल सोमबार घोषणा पत्र जारी गर्दै सम्पन्न भएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए ।
यस्ता छन् घोषणा पत्रका १५ बुँदाहरु
१) मोफसलको पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न लुम्बिनी न्युज फेस्टिवललाई नियमित र दिगो प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
२) तथ्यमा आधारित, जिम्मेवार र सकारात्मक पत्रकारितामार्फत् नेपाल–भारत सीमापार सम्बन्धलाई सुदृढ बनाउने विषयमा सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बनाउने सहमति जनाउँछौं ।
३) लुम्बिनी, कपिलवस्तु र आसपासका क्षेत्रमा हुने तथ्यविहीन, अपुष्ट र नकारात्मक प्रचारप्रति सचेत रहँदै सत्य र सन्तुलित समाचार प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता गर्दछौं ।
४) बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक तीर्थस्थल मात्र नभई दक्षिण एसियासँगै विश्वभरकै महत्वपूर्ण पर्यटन, सांस्कृतिक र संवाद केन्द्रका रूपमा प्रवद्र्धन गर्न सञ्चार माध्यमले सक्रिय भूमिका खेल्ने निर्णय गर्दछौं ।
५) लुम्बिनीको पर्यटन प्रवद्र्धन, लगानी आकर्षण र आर्थिक विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोष, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको निष्कर्षमा पुग्दछौं ।
६) लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पत्रकारिताको निगरानी भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता गर्दछौं ।
.७) सीमावर्ती क्षेत्रका साझा समस्या, अवसर र सहकार्यका सम्भावनालाई पत्रकारितामार्फत सन्तुलित र गहिरो ढंगले उठाउने विषयलाई प्राथमिकतामा राख्ने निर्णय गर्दछौं ।
८) मोफसलमा आधारित खोज, विश्लेषण र नीतिगत पत्रकारितालाई प्रोत्साहन गर्न तालिम, अध्ययन, अन्तरक्रिया र सहकार्य कार्यक्रम विस्तार गर्न जोड दिन्छौं ।
९) प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको सुरक्षा र पेशागत मर्यादाको सम्मान सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।
१०) पत्रकारितामा प्रश्न गर्ने साहस, जिम्मेवारीबोध र जवाफदेहिताको संस्कृतिलाई बलियो बनाउन सम्पादकीय नेतृत्व र सञ्चार संस्थाले अग्रसरता लिने प्रतिबद्धता जनाउँछौं ।
११) पर्यटन, लगानी र विकाससँग जोडिएका स्थानीय मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन डिजिटल मिडिया र नयाँ प्रविधिको प्रभावकारी प्रयोग गर्ने सहमति गर्दछौं ।
१२) नेपाल–भारत पत्रकारबीच अनुभव आदानप्रदान, सहकार्य र संयुक्त अध्ययनलाई निरन्तरता दिन क्षेत्रीय पत्रकार सञ्जाल विस्तार गर्ने निर्णय गर्दछौं ।
१३) संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहका नीति, योजना र कार्यान्वयन प्रक्रियामा पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउन पहल गर्ने प्रतिबद्धता गर्दछौं ।
१४) लुम्बिनी न्युज फेस्टिवलमा उठाइएका बहस, सुझाव र निष्कर्षलाई कार्यान्वयनमा लैजान नियमित अनुगमन र संवादको संयन्त्र विकास गर्ने निर्णय गर्दछौं ।
१५) तेस्रो लुम्बिनी न्युज फेस्टिवल सफल बनाउन सहआयोजक, सहकार्य गर्ने सरकारी तथा निजी क्षेत्र, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सहभागी वक्ता, पत्रकार र स्थानीय समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
घोषणा पत्र लेखनको संयोजक लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले गरेका थिए भने यसको सदस्यहरुमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देही शाखा सचिव सीपी खनाल र लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष दीपेश पछाई रहेका थिए ।








प्रतिकृया दिनुहोस्