June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको केन्द्र बनाऔं’

Advertisement

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्नुुपर्नेमा सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीद्वारा लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्युज फेस्टिवल’ अन्तर्गत ‘लुम्बिनी : लगानी र पर्यटनको सामथ्र्य’ बारे भएको छलफलमा वक्ताले उक्त कुरामा जोड दिए ।

Advertisement

लुम्बिनीको गुरुयोजनामै यो ठाउँलाई पवित्र उद्यान (बगैंचा) का रुपमा परिभाषित गरिए पनि त्यसअनुसार हुन नसक्नु विडम्वना भएको औंल्याए । गुरुयोजनामा उल्लेख पवित्र उद्यानको मूल मर्म लुम्बिनीलाई अन्य पर्यटन नभई आध्यात्मिक पर्यटन केन्द्र बनाउने रहेको लुम्बिनीका अगुवा होेल व्यवसायी लिलामणि शर्माले बताए । उनले लुम्बिनीलाई विश्वभरका एक अर्ब बौद्धमार्गीको आकर्षणको केन्द्र बनाउन सरकारले विशेष योजना र नीति बनाउनुपर्ने बताए ।

‘आध्यात्मिक टुरिजम नै लुम्बिनीको सामथ्र्य हो’, शर्माले भने, ‘गुरुयोजना अनुसार सिंगो लुम्बिनीलाई पवित्र बगैंचाका रुपमा विकास गर्न सके विश्वभरका एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी र मायादेवी मन्दिर बन्न सक्छन् ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान र लगानी कोषको चार पर्खाल बाहिर हुन नसकेको गुनासो गरिन् । पुरातात्विक स्थल उत्खनन्मा मात्र राज्यको लगानी भएको औंल्याउँदै उनले संघीय र प्रदेश सरकारले लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिनुपर्ने आग्रह गरिन् । उनले लुम्बिनीमा बर्थिङ हस्पिटल बनाउन विदेशी लगानी भित्राउने प्रक्रिया अघि बढेको बताइन् । फोहोरको दीगो व्यवस्थापन प्रक्रिया अघि बढेकाले अब विदेशी लगानी भित्रिन सहज भएको हरिजनले बताइन् ।

उनले नगरपालिकाले आफ्नै वजेटमा ध्यान केन्द्र बनाएको र पर्यटन सूचना केन्द्र स्थापना गरेको बताइन् । लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विश्व सम्पदा स्थल लुम्बिनी बौद्ध शिक्षा, शान्ति र सहअस्तित्वको केन्द्रको रुपमा विकास हुनुपर्ने स्थल भएको बताए ।

लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको निर्देशन र नेपाल सरकारको योजना र वजेट भन्दा बाहिर गएर जथाभावी लगानी र काम गर्न पाउँदैन भन्ने तथ्य बिर्सन नहुने राईले आग्रह गरे । अहिलेसम्मका कार्यक्रम र वजेट लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि मात्र हुने गरेको उनले बताए । लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाई हुनुमा पर्याप्त वजेट अभाव भएको राईले गुनासो गरे । भारतीय पर्यटन व्यवसायी मार्फत लुम्बिनीमा भारतीय र विदेशी पर्यटक आउने गरेकाले लुम्बिनीमा बास नबसी एक दिनमै फर्किने परिपाटी रहेको तर पछिल्लो समय गुणस्तरीय पर्यटक भित्राउने र बसार्इं लम्ब्याउने क्रम बढ्न थालेको राईले बताए ।

छलफलमा कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठले लुम्बिनीको पर्यटन विकासका लागि पर्यटकमैत्री नीति, प्रडक्ट र व्यवहार हुनुपर्ने औंल्याए । पर्यटनमा लगानी सरकारले नभई व्यवसायीले गर्ने र पर्यटन विकासको वातावरण र नीतिगत सहजता सरकारले बनाइदिनु पर्ने श्रेष्ठले बताए ।

लुम्बिनीका उद्यानहरुलाई विश्वभरका बौद्धमार्गीहरु आएर ध्यान गर्ने ध्यान केन्द्र बनाउन राज्य र निजी क्षेत्रले विशेष योजना बनाउनुपर्ने श्रेष्ठले सुझाव दिए । यो सेसनको सहजिकरण लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष अध्यक्ष नरेश केसीले गरेका थिए ।