June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

‘मिडियाहरू जवाफदेही बन्न जरुरी छ’

Advertisement

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्युज फेस्टिवल’ अन्तर्गत ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयमा छलफल भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा भएको फेस्टिवलको दोस्रो सेसनमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिडियाले सूचनाको दोहोरो–तेहोरो प्रमाणिकरण (भेरिफाई) र समाचारको तहगत सम्पादन गर्नु अपरिहार्य हुने बताए ।

Advertisement

सूचनाको भेरिफाई र विना सम्पादन प्रवाह गरिने समाचारले समाजलाई दिग्भ्रमित पार्ने र अप्रिय घटना समेत निम्त्याउनेतर्फ सधैं सजग बन्नुपर्ने बताए । मिडियाले राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी तीन अंगलाई निगरानी गर्ने र उनीहरुबीच पुलको काम गर्ने भएकाले मिडियालाई चौथो अंग भनिएको आचार्यले बताए । पत्रकारहरु समाचार लेख्न स्वतन्त्र भए पनि त्यसले पार्ने असर र प्रभावबारे जिम्मेवार र जवाफदेही बन्नै पर्ने बताए ।

‘मिडियाहरु बढी अधिकारमुखी मात्र भएर पुग्दैन, जिम्मेवारमुखी पनि उत्तिकै हुनुपर्छ, आचारसंहिता पालना गरेकै हुनुपर्छ’, आचार्यले भने, ‘पत्रकारले आफ्नो मर्यादा राखे मात्र पत्रकारिता मर्यादित हुन्छ ।’ आचार्यले मिडियाले कर्तब्यको पालना गरे अधिकार आफै प्राप्त हुने बताए ।

अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले मिडियाले सधैं सत्य बोल्ने, सत्य लेख्ने र सत्य व्यवहार गर्नुपर्नेमा जोड दिए । भण्डारीले मिडिया र पत्रकारले क्षमायाचना (सरी भन्न) र धन्यवाद भन्न कन्जुस्यार्इं गरिरहेको औंल्याए । मिडियामा प्रविधिको प्रयोगलाई सकारात्मकरुपमा लिनुपर्ने भण्डारीले सुझाव दिए । प्रविधिले पछाडि नभई अगाडि नै लैजाने भन्दै भण्डारीले प्रविधिसँग हिंड्न नसके मिडियाहरु डाइनोसर बन्ने औंल्याए ।

रास्वपा सभापति रवि लामिछानेले मूलधारका मिडियाका सम्पादकहरुलाई १२ भाइको नामारण गरेको घटनापछि समाजमा असल पत्रकारलाई समेत नकारात्मक दृष्टिले हेर्ने परिपाटी विकास भएको भण्डारीले बताए । मिडिया कर्मबाट माथि उठेकै व्यक्तिले अगुवा पत्रकारमाथि लगाएको १२ भाइको नामाकरणले मिडियाको विश्वसनियतामाथि अनुचित प्रहार गरेको र सिंगो समाजलाई दिग्भ्रमित गरेको भण्डारीले टिप्पणी गरे । भण्डारीले पार्टी निकटका पत्रकारहरुको जनवर्गीय संगठनका कारण पनि निष्पक्ष पत्रकारितामाथि प्रश्न उठेको औंल्याए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले मिडिया सरकार र निजी क्षेत्र दुबैका लागि ऐना भएको बताए । तर सत्य सूचना दिन नसक्दा मिडियाको विश्वसनियता घटेको भन्दै उनले सत्य सूचना छनोट गरेर मात्र प्रवाह गर्न आग्रह गरे । ढुंगा, गिटी बालुवा निर्यातबारे मिडियाले विना अध्ययन मिथ्या सूचना प्रवाह गरेको दावी गर्दै शर्माले त्यसले ठूलो संख्यामा रोजगारी गुमेको र अर्थतन्त्रमा नकारात्मक असर गरेको बताए ।

युवाहरुको विदेश पलायनलाई नकारात्मक मात्र नभई त्यहाँबाट ज्ञान, सीप सिकेर देशमा लागू गरेका सकारात्मक सूचना पनि बाहिर ल्याउनुपर्ने शर्माले आग्रह गरे । सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली, लागु औषध कारोबार र बुद्ध नेपालमा जन्मेको बारे भारतीय मिडियाले पनि कलम चलाउनुपर्ने आवश्यकता शर्माले औंल्याए । निजी क्षेत्रलाई प्रवद्र्धन गर्न, लगानीमैत्री वातावरण बनाउन र पर्यटन प्रवद्र्धन गर्न मिडियाको सकारात्मक भूमिका हुनुपर्ने शर्माले अपेक्षा गरे । निष्पक्ष र आलोचनात्मक पत्रकारिताले निजी क्षेत्र र पत्रकारिता दुबै पक्षलाई फाइदा हुने शर्माले बताए ।

पत्रकारिता अध्येता मिनाक्षी न्यौपानेले मिडियामा काम गर्ने सबै पत्रकार नहुने विषयमा सबै स्पष्ट हुनुपर्ने बताइन् । समाचारको काम गर्ने मात्रै पत्रकार हुने र पत्रकारमा विशेष ज्ञान र दक्षता हुनुपर्ने उनको भनाई थियो । पत्रकारिता अनुभवले मात्र नभई विषयगत शैक्षिक योग्यता पनि हुनुपर्ने बताइन् । महिलाका विषयमा समाचार लेख्न, महिलाका मुद्दा उठाउन महिला पत्रकार नै चाहिन्छ भन्ने मान्यता राख्न नहुने न्यौपानेले बताइन् ।

छलफलमा दर्शदिर्घाबाट बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले मिडियाको जिम्मेवारी र जवाफदेहीताको प्रमुख काम राज्यलाई निरन्तर प्रश्न सोध्ने र बेथिति विरुद्ध खबरदारी गर्नु भएकोमा जोड दिए । कार्यक्रमको सहजिकरण आयोजक क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपेन्द्र बडुवाल गरेका थिए ।