June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

सुस्ताको ऐतिहासिक ‘अनोमाघाट’को विकासका लागि भौतिक पूर्वाधार जरुरी

Advertisement

परासी– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको अनोमाघाटलाई पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा विकास गर्न पालिकाले विशेष पहल अघि सारेको छ । सरोकारवाला पक्षहरूसँग वृहत् छलफलले अनोमाघाटको समग्र विकास र प्रवद्र्धनका लागि ठोस कदम चाल्ने गाउँपालिकाले निर्णय गरेको हो ।

Advertisement

विकासका लागि नयाँ पहल
छलफलले क्षेत्रको योजनाबद्ध विकासका लागि एक अधिकारसम्पन्न ‘अनोमाघाट विकास एवं प्रवद्र्धन समिति’ गठन गर्ने निर्णय गरेको छ । यसका साथै उक्त स्थानमा पर्यटकलाई आकर्षित गर्न विभिन्न भौतिक संरचनाहरू निर्माण गर्ने र बाह्य क्षेत्रबाट आउने आगन्तुकहरूको सहजताका लागि मुख्य राजमार्ग तथा विभिन्न चोकहरूमा जानकारीमूलक साइनबोर्ड राख्ने योजना तय गरिएको छ ।

स्थानीय नेतृत्वको प्रतिबद्धता
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले अनोमाघाट सुस्ताको मात्र नभई देशकै गौरव भएको बताए । उनले भने, ‘अनोमाघाटको ऐतिहासिक गरिमालाई विश्वमाझ चिनाउन हामी प्रतिबद्ध छौँ । यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउन पालिकाले बजेट र योजनामा प्राथमिकता दिएको छ । विकास समितिमार्फत् हामी यहाँको गुरुयोजना कार्यान्वयन गर्नेछौँ र आवश्यक भौतिक पूर्वाधार निर्माणमा कुनै कसर बाँकी राख्ने छैनौँ ।’

त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले प्रशासनिक र प्राविधिक पक्षबाट विकास कार्यलाई तीव्रता दिइने उल्लेख गरे । उनले भने, ‘अनोमाघाटको पहिचानका लागि सूचना प्रवाह सबैभन्दा महत्वपूर्ण छ । त्यसैले हामीले विभिन्न स्थानमा जानकारीमूलक साइनबोर्ड राख्ने र व्यवस्थित संरचना निर्माणको कामलाई तत्कालै प्रक्रियामा लैजाने तयारी गरेका छौँ । यसले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन मद्दत पुग्नेछ ।’

ऐतिहासिक पृष्ठभूमिः के हो अनोमाघाट ?
अनोमाघाटलाई विशेषगरी बौद्ध दर्शनसँग जोडेर हेरिन्छ । सिद्धार्थ गौतम (बुद्ध) ले गृहत्याग गरी ज्ञानको खोजीमा निस्कँदा आफ्नो राजकीय वस्त्र त्याग गरेको र कपाल मुण्डन गरी तपस्वी जीवनको सुरुवात गरेको स्थलका रूपमा यसलाई चिनिन्छ । नारायणी नदीको तटमा रहेको यो क्षेत्र धार्मिक दृष्टिले पवित्र र ऐतिहासिक दृष्टिले उत्खनन तथा अनुसन्धान योग्य मानिन्छ ।