June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

न्युज फेस्टिवल सफल पार्न सहयोग गर्ने भारतीय पत्रकारहरूको प्रतिबद्धता

Advertisement

सुनौली– भारतीय संचारकर्मीहरुले पुस दोस्रो साता बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको तेस्रो लुम्बिनी न्यूज फेस्टिवललाई भव्य बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सिमावर्ती क्षेत्रका समाचार सम्बन्धित मुद्दा र लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लब, रुपन्देहीले पुस १२, १३ र १४ गते बुुद्ध जन्मस्थल लुम्बिनीमा फेस्टिवल गर्दै छ ।

Advertisement

सोमबार भारतको सुनौलीमा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महारजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले दुई देशको पत्रकारिताको अभ्यास, सीमा क्षेत्रका मुद्दा र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित फेस्टिवललाई भव्य तुल्याउन आफूहरुले सबै किसिमका सहयोग गर्ने जनाए । उनले दुई देशका पत्रकार, नेपालको निजी क्षेत्र र सरकारी निकायबीचको बहसले पक्कै पनि नेपाल–भारतको सम्बन्धलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने जनाए ।

पत्रकार आलोक जोशी र सुदेश त्रिपाठीले न्युज फेस्टिवलले दुबै देशको नयाँ अभ्यास र सीमा क्षेत्रको समस्या उजागर गर्ने विश्वास व्यक्त गरे । उनीहरुले भारतीय संचारकर्मीबाट हुने सबै किसिमका सहयोग गर्न तयार रहेको बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले तेस्रोपटक हुुन गइरहेको समाचार महोत्सवलाई ऐतिहासिक र उपलब्धिपूर्ण बनाउन लागिपरेको जनाए ।

महोत्सवमा नेपाली पत्रकारिता र सञ्चारक्षेत्रका बारेमा छलफल, बहस, अन्तरक्रिया हुने उनको भनाई छ । उनका अनुसार यसले पत्रकारिताको असल अभ्यास र आगामी कार्यदिशा तय गर्ने छ । कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले तेस्रो समाचार महोत्सवमा समाचारका विभिन्न विधाको बारेमा छलफल, बहस र अन्तरक्रिया गरिने र त्यसले नेपाली पत्रकारिताको इतिहासको समीक्षा गर्दै, वर्तमानको अवस्था उजागर गर्नुका साथै भविष्यको मार्ग तयार गर्न योगदान दिने अपेक्षा गरिएको बताए ।

तेस्रो समाचार महोत्सवमा भारतको महारजगंज, लखनउ, बनारस, अयोध्या, दिल्ली, गोरखपुर र सिक्किमका पत्रकार, काठमाडौंका पत्रकार तथा नेपालको विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक रुपमा पत्रकारहरु सहभागी हुने हुनेछन् ।

यस्तै, फेस्टिवलमा लुम्बिनी सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधि, प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष, मूलधारका सम्पादक, जिल्लास्थित महासंघका अध्यक्ष तथा पत्रकारहरु, पर्यटन व्यवसायी, निजी क्षेत्रका छाता संगठन, उद्योगी–व्यवसायी, कर्मचारी लगायतको सहभागिता रहनेछ । १२ वर्ष अगाडि क्रियाशील पत्रकारहरुको सक्रियतामा स्थापना भएको लुम्बिनी प्रेस क्लबले २०७६ र २०८० मा न्युज फेस्टिवल गरिसकेको छ ।