June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

काँग्रेस लुम्बिनीः २६ उम्मेदवारका लागि ११ जिल्लाबाट १३९ जना सिफारिस

Advertisement

भैरहवा– नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले जिल्लाबाट सिफारिस भएर आएका नामलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसका लागि सहमति जुट्न नसकेपछि कांग्रेस लुम्बिनी प्रदेशले क्षेत्र र जिल्लाबाट आएका नामहरु छनोट नगरी सबै केन्द्रीय समितिमा पठाएको हो ।

Advertisement

कांग्रेसले प्रतिनिधि सभाका लागि एक क्षेत्रबाट तीन जनाको नाम प्राथमिकता सूचीसहित सिफारिस गर्न निर्देशन गरेको थियो । यद्यपि प्रदेशले पार्टीमा योगदान गरेको र जित्नसक्ने सम्भावित उम्मेदवारको विषयमा छुट्टै रायसहित सिफारिस पठाएको छ ।

कांग्रेसका अनुसार रूपन्देही–३ बाट नेता बालकृष्ण खाँणलाई सिफारिस भएका छन् । रूपन्देही–३ बाट खाँणसहित ६ जनाको नाम सिफारिस भएको हो । त्यस्तै कांग्रेस सहमहामन्त्री राठौरको बाँके–३ र बर्दिया–२ बाट सिफारिस भएको छ । बर्दिया–२ बाट राठौर र आरजु राणासहित ९ जनाको नाम सिफारिस भएको छ । पश्चिम नवलपरासी–२ बाट कांग्रेस नेता देवेन्द्रराज कँडेल र रुपन्देही–५ बाट भरत शाहको एकल नाम सिफारिस भएको छ । तर, शाहका विषयमा विवाद भएपछि रूपन्देही–५ बाट कांग्रेस क्षेत्रीय समितिले युवा नेता विष्णु पोखरेलसहित ३ जनाको नाम केन्द्रमा छुट्टै सिफारिस गरेको छ । त्यस्तै गुल्मी–१ बाट चन्द्र भण्डारीसहित ७ जनाको नाम सिफारिस भएको छ ।

कांग्रेसले लुम्बिनीबाट प्रतिनिधि सभा सदस्यका लागि २६ र राष्ट्रिय सभाका लागि ३ गरी २९ जना उम्मेदवारका लागि २ सय ४३ जनाको नाम पठाएको छ । गुल्मीका २ क्षेत्रबाट २१ जना र रूपन्देही–५ बाट ३ जना गरी २४ जनाको नाम छुट्टै केन्द्रमा सिफारिस भएको छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले क्षेत्र र जिल्लाबाट सिफारिस भएर आएका ११ जिल्लाका उम्मेदवारको सूची केन्द्रमा पठाइएको बताए । उनका अनुसार गुल्मी जिल्लाले शनिबारसम्म पनि सिफारिस गर्न नसकेका कारण केन्द्रमै सिफारिस गर्ने गरी सिफारिस भएर आएका ११ जिल्लाका नामावलीको सूची प्रदेशले केन्द्रमा पठाएको हो ।

१२ मध्ये ११ जिल्लाबाट आएका प्रतिनिधि सभातर्फ १ सय ३९, राष्ट्रिय सभाका लागि १ सय ४ र समानुपातिकका लागि १ सय ८६ जनाको सूची केन्द्रीय समितिलाई सिफारिस गरिएको हो । क्षेत्र र जिल्लाले नै मापदण्ड पूरा गरेर छनोट विधिको प्रयोग गर्न नसकेपछि प्रदेशले त्यसलाई काँटछाँट गर्ने अवस्था नै भएन । त्यसैले सबै उम्मेदवारको सूची बनाएर केन्द्रमा पठाइएको हो । यद्यपि महत्वपूर्ण योगदान गरेका र जित्न सक्ने सम्भावित उम्मेदवारको विषयमा छुट्टै राय पनि पठाइएको उनले बताए ।

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ २६ क्षेत्र छन् । २६ जनाका लागि गुल्मीबाट बाहेक ११ जिल्लाबाट मात्र १ सय ३९ जनाको नाम सिफारिस भएको छ । गुल्मीबाट क्षेत्र नं. १ बाट ७ र २ बाट १४ जनाको नाम छुट्टै सिफारिस भएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि ३ जना मात्र आवश्यक रहेकामा १ सय ४ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा भने १ सय ८६ जनाको नाम सिफारिस भएको हो । लुम्बिनी प्रदेशबाट बालकृष्ण खाँण, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह लगायत नेताको नाम सिफारिस भएको छ ।