June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

समाचारको उत्सव, पुस दोस्रोसाता ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिवल’

Advertisement

भैरहवा– पुस दोस्रो साता बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिवल’ आयोजना हुँदैछ । सिमावर्ती क्षेत्रका समाचार सम्बन्धित मुद्दा र लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले समाचार उत्सव आयोजना हुन लागेको हो । फेस्टिबलले यसपटक सिमापार सम्बन्ध र सम्भावनालाई प्राथमिकता दिएको छ ।

Advertisement

लुम्बिनी प्रेस क्लबको आयोजनामा पुस १२, १३ र १४ गते बुुद्ध जन्मस्थल लुम्बिनीमा फेस्टिवल हुने भएको हो । क्लबले २०७६ साल मंसिर १, २ र ३ गते लुम्बिनीमा पहिलोपटक समाचार महोत्सव (न्युज फेस्टिवल) आयोजना गरेको थियो । त्यसबेला मुलुकका सञ्चार क्षेत्रका अगुवा, मूलधारका सम्पादक, मुख्यमन्त्री, संघीय सांसद, मन्त्री, स्थानीय तहका जनप्रतिनिधिलाई लुम्बिनी आमन्त्रित गरेर समाचारका विषयमा बहस सञ्चालन गरिएको थियो ।

दोस्रो पटक २०८० सालमा भैरहवामा न्यूज फेस्टिबलको आयोजना गरिएको थियो । तेस्रो पटक हुुन गइरहेको समाचार महोत्सवलाई ऐतिहासिक बनाउने गरी गृहकार्य भइरहेको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए । ‘लुम्बिनीमा तेस्रोपटक हुुन गइरहेको समाचार महोत्सवलाई ऐतिहासिक र उपलब्धिपूर्ण बनाउन हामी सबै लागिरहेका छौं,’ उनले भने, ‘महोत्सवमा नेपाली पत्रकारिता र सञ्चारक्षेत्रका बारेमा छलफल, बहस, अन्तरक्रिया हुनेछ ।’

यस्तै, उनले सीमापारका सम्बन्ध, पर्यटन, उद्योगब्यापार, स्थानीय र प्रदेश सरकारको कामको विश्लेषण र छलफल हुनेछ । नेपालको इतिहासमा पहिलोपटक २०७६ सालमा काठमाडौंका मूलधारका ५० जना सम्पादक र देशभरीका ३ सय जना पत्रकार सहभागी गराई पहिलो समाचार महोत्सव गरेको प्रेस क्लबको तेस्रो पटकको समाचार महोत्सवलाई धेरैले चासो पूर्वक लिएका छन् ।

तेस्रो समाचार महोत्सवमा समाचारका विभिन्न विधाको बारेमा छलफल, बहस र अन्तरक्रिया गरिने र त्यसले नेपाली पत्रकारिताको इतिहासको समीक्षा गर्दै, वर्तमानको अवस्था उजागर गर्नुका साथै भविष्यको मार्ग तयार गर्न योगदान दिने अपेक्षा गरिएको छ । तेस्रो समाचार महोत्सवमा भारतको उत्तर प्रदेश र सिक्किमका पत्रकार, काठमाडौंका पत्रकार तथा नेपालको विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक रुपमा पत्रकारहरु सहभागी हुने कार्यक्रम संयोजक समेत रहेका क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले बताए । संयोजक बडुवालले भने, ‘नेपाली पत्रकारिता जगतमा लुम्बिनी न्युज फेस्टिवल ऐतिहासिक कार्यक्रम हो । यो कार्यक्रममा सबै पत्रकारहरुलाई सक्रियता पूर्वक सहभागिता जनाउन हामीले आग्रह समेत गरेका छौं ।’

यस्तै, फेस्टिवलमा लुम्बिनी सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधि, प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष, मूलधारका सम्पादक, जिल्लास्थित महासंघका ध्यक्ष तथा पत्रकारहरु, पर्यटन व्यवसायी, निजी क्षेत्रका छाता संगठन, उद्योगी–व्यवसायी, कर्मचारी लगायतको सहभागिता रहनेछ ।

१२ वर्ष अगाडि क्रियाशील पत्रकारहरुको सक्रियतामा स्थापना भएको लुम्बिनी प्रेस क्लबले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रेस क्लबले सधै रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको र यसपटक समाचार उत्सवलाई सार्थक र व्यवस्थित ढंगले आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।