थुनामुक्त भएपछि लामिछानेले भने– न्यायको लडाइँ बाँकी छ


भैरहवा – रुपन्देही जिल्ला अदालतबाट धरौटी बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी नै रहेको बताएका छन् । शुक्रबार अदालत उपस्थित भएका उनले रिहा भएपछि समर्थकलाई सम्बोधन गर्दै भने, ‘मेरो लागि होइन, तपाईंहरुको न्यायको लागि लडाइँ अझै बाँकी छ । उनीहरुले यो देशमाथि गरेको अन्यायविरुद्ध लड्न बाँकी छ ।’
तुलसीपुर उच्च अदालत बुटवल इजलसको आदेश बमोजिम शुक्रबार साँझ जिल्ला अदालत रुपन्देहीबाट कागजी प्रक्रिया पूरा गरेर लामिछाने थुनामुक्त भएपछि समर्थकल समक्ष हिसाव मिलाउन र न्याय पाउन बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।
‘मैले अझैं लड्न बाँकी छ, मेरो लागि लड्ने कुरा गरेको होइन,’ उनले भने, ‘तपाईं र यो देशको न्यायका लागि लड्न बाँकी छ भनेको हुँ ।’ यसअघिका सरकार र नेताले देशमाथि गरेको अन्यायका अगाडि आफूमाथि भएको अन्याय केही पनि नभएको उनले बताए । ‘यिनिहरुको हिसाव गर्नु छ,’ उनले भने, ‘त्यो हिसाव गरेपछि लामो बोलौलाँ ।’ मुलुकले चाँडैं न्याय पाउने आशा गरेको उनले बताए ।
प्रहरीको गाडीमा जिल्ला अदालत प्रवेश गरेका उनी निजी गाडीमा बाहिरिएका थिए । उनलाई अदालतको गेटबाट मुख्य सडकसम्म समर्थकले नाराबाजी गर्दै पुर्याएका थिए । ‘सबैको जय हो, मैले बोल्ने समय आउँदैंछ,’ उनले भने, ‘केही समय धैर्य गर्नुहोला, मैेले धेरै कुरा भन्न बाँकी छ ।’ उनले बोल्दै समय छिट्टै आउने बताए । हिसाब गरेरै छाड्ने प्रतिक्रिया दिए । उनले अनवरत साथका लागि समर्थकलाई धन्यवाद व्यक्त गरे ।








प्रतिकृया दिनुहोस्