पुस ६ गते रूपन्देहीमा ११ हजार जनालाई ध्यान गराइँदै


भैरहवा– द आर्ट अफ लिभिङ आश्रम भैरहवाले रुपन्देहीका ११ हजार बढीलाई ध्यान गराउने भएको छ । विश्व ध्यान दिवसको अवसर पारेर पुस ६ गते (२१ डिसेम्बर) का दिन भैरहवा र रुपन्देही कंचन गाउँपालिकामा ध्यान शिविर संचालन गर्न लागिएको हो ।
शुक्रबार भैरहवास्थित आश्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षकहरुले शान्ति, शारीरिक सन्तुलन र आध्यात्मिक उन्नति दिलाउन यति ठूलो संख्यालाई ध्यान गराउन लागिएको जनाइएको छ । आयोजकका अनुसार पुस ६ गते भैरहवास्थित नेपाल नालन्दा माविमा बिहान १० बजेदेखि एक घण्टा ध्यान शिविर हुनेछ ।
सिद्धार्थनगर–९, स्थित उक्त विद्यालयमा हुने ध्यान शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, स्थानीय, उद्योगी व्यवसायी तथा सर्बसाधारण गरी एक हजार जनाको सहभागिता रहने प्रशिक्षक मंगल भण्डारीले जानकारी दिए । यस्तै सोही दिन सोही प्रकृतिको कार्यक्रम कंचन गाउँपालिका–४ स्थित दियो खेलमैदानमा हुनेछ ।
दिउँसो १ बजेदेखि हुने ध्यान शिविरमा त्यस क्षेत्रका सम्पूर्ण स्कूलका कक्षा ८ देखि माथिका विद्यार्थी, कलेजका विद्यार्थी, अभिभावक गरी १० हजार बढीको सहभागिता रहने भण्डारीले बताए । यस कार्यक्रमको आयोजकको रुपमा कंचन गाउँपालिका छ भने संयोजन द आर्ट अफ लिभिङ नेपाल कंचन गाउँपालिकाले गर्नेछ । नालन्दामा हुने ध्यान शिविरको संयोजक प्रशिक्षक दीपेन्द्र प्रधानले गर्नेछन् । प्रशिक्षक भण्डारीले नेपाल ध्यान तथा अध्यात्मको उद्गम स्थल भएको जनाउँदै वर्तमान समयमा युवाहरुमा भविष्यप्रतिको बढ्दो नैराश्यता एवम् नकारात्मक सोचलाई सकारात्मकता तर्फ अगाडि बढाउन ध्यान नै सशक्त माध्यम भएको जनाए ।
आयोजकका अनुसार ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने नाराका यी दुई ठाउँमा कार्यक्रम गर्न लागिएको हो । नालन्दामा आयोजित ध्यान कार्यक्रमका संयोजक एवं प्रशिक्षक प्रधानले नेपाल ध्यानका लागि हब बन्न सक्ने बताए । पुर्खाले ध्यान नसिकाएको जनाउँदै अब विस्तारै त्यसतर्फ लाग्नुपर्ने उनको भनाई छ । प्रधानले पछिल्लो समय ध्यानलाई गाउँगाउँ पुर्याउन र यसको विकासमा द आर्ट अफ लिभिङ लागिरहेको बताए । कंचनमा आयोजना हुन लागेको ध्यान कार्यक्रमका संयोजक चुडामणि पौडेलले अहिले कंचनका दर्जनौं विद्यालयहरुमा ध्यान शिविर संचालन गरिएको जनाए । बरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले ध्यानले व्यक्तिमा सकारात्मकता बृद्धि गर्ने जनाए ।
दुबै ठाउँको ध्यान शिविरको प्रशिक्षकमा भारतको बैंग्लोरका स्वामी देवदत्त ब्रह्माचार्यले भूमिका निभाउने छन् । यस्तै, भैरहवा र आसपासमा प्रशिक्षकले पनि प्रशिक्षण दिने आयोजकले जनाएका छन् ।
द आर्ट अफ लिभिङ्ग फाउण्डेसन सन् १९८१ मा श्री श्री रविशंकरद्वारा स्थापित एक अन्तर्राष्ट्रिय गैर नाफामूलक संस्था हो, जसको उद्देश्य व्यक्तिगत शान्ति र सामाजिक सद्भाव स्थापना गर्नु रहेको छ । संस्था हाल विश्वभर १८० भन्दा बढी देशहरुमा सक्रिय छ र योग, ध्यान तथा श्वासप्रश्वासका प्रविधिहरु मार्फत मानिसहरुलाई तनावमुक्त र सकारात्मक जीवनशैलीतर्फ उन्मुुख गराउँदै आएको छ ।
यसको प्रमुख अभ्यास शुदर्शन क्रिया हो, जसले मानसिक शान्ति, शारीरिक सन्तुलन र आध्यात्मिक उन्नति दिलाउने गर्दछ । ६ डिसेम्बर २०२४ मा श्री श्री रविशंकरको बिशेष पहलमा नेपाल, भारत लगायत विभिन्न राष्ट्रप्रमुखहरुले ध्यानलाई विश्वव्यापि कल्याण र शान्तिको उपकरणको रुपमा प्रस्तुत गर्दै एक उत्सवको रुपमा मनाउन उपयुक्त हुने भनी गरेको प्रस्तावलाई १९२ राष्ट्रका राष्ट्रप्रमुखद्वारा समर्थन गरि संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मत अनुमोदन गरेको थियो ।
२१ डिसेम्वर २०२४ मा भएको प्रथम विश्व ध्यान दिवसको उद्घघाटन सत्रमा श्री श्री रविशंकरको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा १८० देशका ८५ लाख भन्दा बढी सहभागीसँग एकै समयमा ध्यान गराई गिनिज बुक अफ वल्र्ड रेकर्ड स्थापित भएको थियो । मुलुकका ठूला सहरहरुमा द आर्ट अफ लिभिङका आश्रम तथा सेन्टरहरु स्थापित छन् । यी आश्रम र सेन्टर मार्फत् ध्यानका कार्यक्रहरु संचालित हुँदै आएका छन् ।








प्रतिकृया दिनुहोस्