June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

एमाले पदाधिकारीः लुम्बिनीबाट तीन दोहोरिए, विष्ट उपाध्यक्षमा उक्लिए

Advertisement

भैरहवा– नेकपा एमालेको ११ औं महाधिवेशनबाट पदाधिकारीमा लुम्बिनी प्रदेशबाट बलियो उपस्थिति देखिएको छ । रुपन्देहीबाट मात्रै एमालेमा उपाध्यक्ष र सचिवले प्रतिनिधित्व गर्ने भएका छन् ।

Advertisement

एमालेको १९ सदस्यीय पदाधिकारीमध्ये उपाध्यक्षमा विष्णुप्रसाद पौडेल र गोकर्णराज विष्ट निर्वाचित भएका छन् । यस्तै, महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । सचिवमा छविलाल विश्वकर्मा निर्वाचित भए ।

बिहीबार सार्वजनिक महाधिवेशनको मतपरिणामअनुसार लुम्बिनी प्रदेशबाट ४ जना पदाधिकारी निर्वाचित भएका हुन् । यसअघि पदाधिकारीमा लुम्बिनीबाट ५ जनाले प्रतिनिधित्व गर्थे । यसपटक गुल्मीका प्रदीप ज्ञवालीले पदाधिकारीमा उम्मेदवारी नै दिएनन् ।

पदाधिकारी निर्वाचित मध्ये उपाध्यक्ष पौडेल र सचिव विश्वकर्मा रुपन्देहीबासी हुन् भने उपाध्यक्ष विष्ट गुल्मी र महासचिव पोखरेल दाङ निवासी हुन् । पौडेल, पोखरेल र विश्वकर्मा सोही पदमा दोहोरिँदा यसअघि सचिव रहेका विष्ट यसपटक उपाध्यक्ष निर्वाचित भएका छन् । एघारौं महाधिवेशनबाट एमाले अध्यक्षमा केपी शर्मा ओलीले ह्याट्रिक गरेका छन् ।