June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

लुम्बिनी प्रदेशमा भेप तस्करीको जालो

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका सिमावर्ती नाकाबाट तस्करी बढ्यो भन्ने वित्तिकै प्रहरीको पारा तात्छ । दिनदिनै सीमा क्षेत्रबाट तस्तरी भइरहेका बेला सुरक्षा निकायका प्रमुख तस्करी नियन्त्रण गरेको र शून्य सहनशिलता अपनाएको दाबी गर्छन् । उनीहरु भन्छन्, ‘पत्रकारले तस्करी बढ्यो भनेर लेखिदिन्छन् ।’ त्यसो भए नियन्त्रण भनेको दिनदिनै तस्करी गरेर भित्र्याइएका समान बरामद गर्नु हो त ?

Advertisement

जिल्लास्थित नागरिक समुदायले भने यसरी हुने बरामदीलाई तस्करी रोकथाम मान्न तयार छैनन् । तस्करी रोकिएको भए सुरक्षा निकायलाई बरामद गर्नुपर्ने बाध्यता नै नपर्ने उनीहरुको भनाई छ । सुरक्षा निकायले तस्करी नियन्त्रण गरे भनेर दाबी गरिरहेका बेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भेप (इलेक्ट्रिक चुरोट) बरामद हुने क्रम बढेको छ । केही महिनाअघि रुपन्देहीको लुम्बिनीबाट ठूलो परिमाणमा भेप बरामद गरिएको थियो । त्यसयता ठाउँठाउँमा भेप बरामद हुनुले तस्करीको जालो सक्रिय रहेको अनुमान गरिएको छ । अहिले भेप व्यापारी नै पक्राउ पर्न थालेका छन् ।

पछिल्लोपटक पाल्पाको तानसेनबाट ५८ थान भेप (इलेक्ट्रिक चुरोट) सहित दुई व्यापारीलाई प्रहरीले नियन्त्रणमा लियो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तानसेन नगरपालिका–४, सिल्खानटोलस्थित ३१ वर्षीय राजा सोनी र ५२ वर्षीय अलिम मियालाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । सोनीले सञ्चालन गरेको रास्ता हाउस र मियाले सञ्चालन गरेको अलिम स्टोर्समा रित पूर्वक खानतलासी गर्दा भेप बरामद भएको प्रहरीले जनाएको छ । रास्ता हाउसबाट २६ थान र अलिम स्टोर्स कस्मेटिक हाउसबाट ३२ थान फेला पारेको हो ।

दुवै स्थानबाट बरामद भेपका साथै दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको छ । पछिल्लो समयमा सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको हो ।

फरक–फरक स्वादका कारण युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको व्यापारी बताउँछन् । नयाँ स्वादमा आएका भेपको खुद्रा मूल्य २ हजार रहेको व्यापारीहरु बताउँछन् । बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महंगो रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडा सीतापहाडमा हाइवे चेकिङका लागि खटिएको प्रहरीले लागुऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको हो । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग ५ प ८३५५ नम्बरको मोटरसाइकलका चालक कास्कीको पोखरा महानगरपालिका–२५, बस्ने ३० वर्षीय जयदेव विक र सोही मोटरसाइकल पछाडि बस्ने पोखरा महानगरपालिका–२७ बस्ने २७ वर्षीय अजित परियारले लागुऔषध ओसारपसार गरेको भेटिएको हो ।

पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीले १ हजार ८ सय थान भेप बरामद गरेको छ । पाल्हीनन्दन गाउँपालिका–६ मा परालको कुन्युमा लुकाइराखिएको अवस्थामा सशस्त्र प्रहरीले भेप बरामद गरेको हो । लुकाइछिपाइ भारततर्फ लैजान खोजिएको अवस्थामा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरिएको र यसको बजार मूल्य करिब ४५ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर २६ हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसीले बताए ।

चीनबाट नेपाल हुँदै भारततर्फ भेप तस्करी हुने गरेको बताइएको छ । बरामद भएको भेप आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ । भेप बरामद भए पनि यसको कारोबारमा संलग्न व्यक्ति भने पक्राउ परेका छैनन् । बेवारिसे अवस्थामा लुकाएर राखिएको सामान बरामद गरिएको हो ।