June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

लुम्बिनी प्रदेशमा बालबिवाह भयाबह

Advertisement

भैरहवा– पछिल्लो तीन आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा विवाहको उमेर नपुग्दै सुत्केरी हुने किशोरीको संख्या बढ्दै गएको छ । कानुनले विवाह गर्ने उमेर २० वर्ष पूरा भएपछि मात्र भनेको छ । तर, उमेर नपुग्दै बच्चा जन्माउनेहरू हजारौंको संख्यामा पुगेका छन् ।

Advertisement

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–०८० देखि आर्थिक वर्ष २०८१–०८२ सम्म ८ हजार ८ सय ७१ जना किशोरीहरू उमेर नपुग्दै सुत्केरी भएका छन् । लुम्बिनी प्रदेशमा कुल सुत्केरी हुने संख्याको ३.८ प्रतिशत हिस्सा २० वर्ष उमेरमुनिकै छन् ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले बालविवाह अन्त्यका लागि तयार पारेको रणनीतिक योजना अनुसार आर्थिक वर्ष २०७९–०८० मा ९० हजार ३ जना सुत्केरी भएकामा ३ हजार ३ सय ९९ जना २० वर्ष मुनिका छन् । आर्थिक वर्ष २०८०–०८१ मा ८२ हजार ९ सय ४५ जना सुत्केरी भएकामा २ हजार ८ सय १५ जना विवाहको उमेर नपुग्दै सुत्केरी भएको तथ्यांक छ ।

यस्तै, आर्थिक वर्ष २०८१–०८२ मा ८० हजार ९९ जना सुत्केरी भएकामा २ हजार ६ सय ५७ जना किशोरीहरू विवाहको उमेर नपुग्दै आमा बनेका छन् । कलिलै उमेरमा सुत्केरी हुनुको प्रमुख कारण बालविवाह रहेको सरोकारवालाले जनाएका छन् । तथ्यांक अनुसार बालविवाह बढी हुने मुलुकमा नेपाल १६ औं स्थानमा पर्छ भने दक्षिण एसियामा बंगलादेश र भारतपछि तेस्रो स्थानमा रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले तयार पारेको रणनीतिक योजनामा उल्लेख छ ।

देशभर ३६.६ प्रतिशत बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्यांक छ । १०.४ प्रतिशत विवाह १५ वर्ष उमेर नपुग्दै हुने गरेको छ । उमेर नपुग्दै विवाह हुने बालकको संख्या १० प्रतिशत छ ।