June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

खगेन्द्रप्रसाद र रुद्रकलीलाई भैरहवाबाट कतार पठाइयो

Advertisement

भैरहवा– चितवनबाट भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई बुधबार साँझ कतार पठाइएको छ । नेपालले कतारलाई उपहार दिएका यी हात्ती गौतमबुद्ध अनतर्राष्ट्रिय विमानस्थल हुँदै सयपत्रीको माला र अबिरले बिदाई गरिएको हो । विहान खराब मौसमका कारण कलकत्ता डाइभर्ट भएको कतार एयरवेजको बोइङ ७७७ जहाज अपरान्ह भैरहवा विमानस्थल आइपुगेको थियो । हात्ती राखिएका दुईवटा खोर विमानमा लोड गरेपछि बुधबार साँझ साढे ५ बजे भैरहवाबाट विमान कतारका लागि उडेको थियो ।

Advertisement

हात्ती हस्तान्तरणका लागि विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुःखको बास होस भनेर कामना गरे । वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले हात्ती बिदाई गर्दा छोरी अन्माए जस्तै महशुस भएको बताए । दुबै हात्तीलाई नयाँ घरको बास सुखद बनोस् र सन्तान बृद्धि होस् भनेर शुभकामना दिए ।

नेपालबाट जाने दुई माहुत र एकजना भेटेरीनरी प्राविधिकले एक महिनासम्म कतारमै बसेर हात्तीको स्याहार–सुसार र रेखदेखबारे त्यहाँका नागरिकलाई सिकाउने छन् । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले यहाँबाट बिदाई गरिएका हात्तीले बिहीबार कतारको राष्ट्रिय दिवसकादिन कतारी जमिन टेक्ने बताए ।

निकुञ्ज विभागका महानिर्देशक डा. बुद्धीसागर पौडेलले बुधबार रातिबाट कतार खगेन्द्र र रुद्रकलीको नयाँ घर हुने बताए । हात्ती उपहार दिनुले नेपाल र कतारबीच हात्तीजस्तै बलियो सम्बन्ध रहेको प्रष्ट भएको उनले बताए । हात्ती हस्तान्तरण गर्नुपूर्व कतारमा रहेको चिडियाखाना पुगेर नेपाली प्राविधिक टोलीले अध्ययन गरेको थियो ।

उक्त टोलीले हात्ती राख्न सकिने रायसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रहेर हस्तान्तरण गरिएको पौडेलले बताए । उनका अनुसार ७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएको हो । भने, ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरसोर प्रजनन् केन्द्रमा जन्मिएको थियो ।

कतारी दूताबासका डेपुटी चिफ अफ मिसन खालिफा अन्मारीले हात्ती उपहार दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । ‘नेपाली सरकार र जनतालाई धेरै धन्यवाद,’ उनले भने, ‘यसबाट दुई मुलुकबीचको सम्बन्ध झन प्रगाढ हुनेछ ।’ नेपालका संरक्षण सरोकारवालालाई पनि उनले धन्यवाद दिए ।

विभागका अनुसार कानुन बमोजिम साइटिस प्रमाणपत्र, स्वास्थ्य सम्बन्धि प्रमाणपत्र जारी गर्ने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर दुबै हात्तीलाई कतारको दोहा पठाइएको हो । हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जिवी पोखरेल, राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका प्रमुख, सुरक्षा प्रमुख र कतारी दूतावासका प्रतिनिधि सहभागी थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२४ अप्रिलमा कतारका अमिरको राजकीय भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको हात्ती उपहार प्रदान गर्ने निर्णयको कार्यान्वयन गरिएको हो ।