एमाले रूपन्देही सचिव कार्की रास्वपा प्रवेश


भैरहवा–रुपन्देही क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार टुंगो लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन बिस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा नयाँ सदस्य बृद्धि गर्ने र फरक दलबाट कार्यकर्ता प्रवेश गराउने कार्यलाई जोड दिएको छ ।
यसैक्रममा रुपन्देहीको सैनामैना नगरपालिकाका पूर्व प्रमुखलाई पार्टीमा भित्र्याएर रास्वपाले नयाँ संदेश दिएको छ । नेकपा एमाले रुपन्देहीका सचिव समेत रहेका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की आइतबार रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताले कार्की लगायतलाई पार्टीमा स्वागत गरेका थिए । कार्कीसहित झन्डै दुई सय जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेको रास्वपाले दाबी गरेको छ ।
कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्वस्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका नेता हुन् । कार्की सँगै नेकपा एमाले प्रदेश सदस्य पदम ज्ञवाली लगायतका नेताहरू रास्वपा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा उपसभापति वाग्लले मुलुकमा विधिको साशन स्थापित गर्न लागि परेको जनाए । पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेर मुद्दा लगाइएको जनाउँदै आगामी निर्वाचनमा जनताले त्यसको जवाफ दिने बताए । पार्टी प्रवेश गर्दै कार्कीले मुलुकलाई सही दिशा निर्देश गर्न रास्वपा रोजेको जनाए । रास्वपाको नीति, सिद्धान्त र विचार अंगिकार गरेर पार्टीलाई नगर र जिल्लामा बलियो बनाउन लागिपर्ने उनको भनाई छ ।








प्रतिकृया दिनुहोस्