June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

सुरक्षाको कारण देखाउँदै बर्दघाटको राष्ट्रिय आवास कम्पनी योजना कार्यालय ठप्प

Advertisement

भैरहवा–सुरक्षाको कारण देखाउँदै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१ पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी लिमिटेडको योजना कार्यालयमा आइतबारदेखि सम्पूर्ण कामकारबाही ठप्प पारिएको छ ।

Advertisement

कार्यालयका योजना प्रमुख महेन्द्र थापामाथि र्दुव्यवहार गर्ने व्यक्तिहरू हप्ता दिन बितिसक्दा पनि पक्राउ नपरेको भन्दै कर्मचारीहरूले सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै सवै काम रोकेको जनाएका छन् । थापा कार्यालय प्रमुख हुन् । आँफूलाई नेपाल कम्युनिस्ट पार्टी बहुमतको कार्यकर्ता भएको बताएको एक समूहले गत मंसिर २१ गते कार्यालयका प्रमुख थापामाथि भ्रष्टाचार गरेको तथा अनियमितता गरेको आरोप लगाउँदै र्दुव्यवहार गरेका थिए ।

उक्त घटनाको लगत्तै नेकपा (बहुमत) ले जारी गरेको विज्ञप्तिमा थापाले राष्ट्रिय आवास कम्पनीको जग्गा बिक्रीमा मिलोमतो गरी भ्रष्टाचार गरेको लगायत विभिन्न ६ वटा आरोप लगाएको थियो । कार्यालय प्रमुख थापाले पत्रकार सम्मेलन मार्फत आँफुमाथि लगाइएका आरोप गलत भएको दावी गर्दै र्दुव्यवहार गर्ने व्यक्तिलाई कारबाही नभएसम्म सुरक्षाको प्रत्याभूती मान्न नसकिएको भन्दै कार्यालय बन्द गरिने बताएका थिए ।

थापामाथि चिसापानीमा स्थानीयले संरक्षण गरेको जग्गा व्यक्तिगत कम्पनीलाई बिक्री गरेको, आफ्ना परिवारका सदस्यहरूलाई केन्द्रीय कार्यालयमा जागिर खुवाएको, जग्गा बिक्रीको अभिलेख नराखी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको र जग्गा बिक्री गर्दा स्थानीयसँग घुस मागेको आरोप लगाएको छ ।

कार्यालय प्रमुख थापाले आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको दाबी गर्दै चिसापानीको जग्गा विवादमा सर्वोच्च अदालतको परमादेश अनुसार नै व्यक्तिको नाममा गएको बताएका छन् । आफूले कसैसँगपनि आर्थिक रकम नलिएको र आफ्ना नातेदार कसैलाईपनि जागिरमा नलगाएको दाबी गरेका छन् ।

कार्यालयमा काम ठप्प हुँदा स्थानीय तहबाट सिफारिस भई आएका कागजातका आधारमा मालपोत कार्यालयलाई गरिने सिफारिस लगायतका अत्यावश्यक कामहरू रोकिएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म काम सुचारु हुन नसक्ने कर्मचारीले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरिक्षक कृष्ण डाँगीले राष्ट्रिय आवास कम्पनी योजना कार्यालयका कर्मचारीको सुरक्षार्थ आपसी समन्वय गरिराखेको र र्दुव्यवहार गर्ने व्यक्तिहरुको खोजी जारी रहेको पब्लिककुरासँग बताए । र्दुव्यवहार गर्ने को हुन् ? भन्ने बारेमा न कर्मचारीले नै पहिचान गरेका बताउन सक्नु भएको छ । उनिहरुको पहिचान गर्न नत कुनै भिडीयो फुटेज नै छ’ डाँगीले भने, हामीलाई शंका लागेको केही व्यक्तिको खोजी जारी राखेका छौं ।’