नियमविपरीत प्राधिकरण बुटवलकी कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि


भैरहवा– नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि (मतदाता) बनेको पाइएको छ । कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै उनी प्रतिनिधि भएकी हुन् ।
अहिले सामाजिक संजालमा उनले सरकारको कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरुले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने उल्लेख छ ।
यस्तै कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्नेगरी राजनीतिक प्रचार प्रसार गर्नु गराउन नपाइने उल्लेख छ ।
तर, प्राधिकरणकी वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि चयन भएर महाधिवेशनमा सहभागी भएकी हुन् । महाधिवेशनको उद्घाटन समारोहमा थापा पुगेको तस्वीर सार्वजनिक भएपछि आलोचना सुरु भएको छ ।








प्रतिकृया दिनुहोस्