June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

होराइजन जीबीएस पनि पुग्याे सेमिफाइनल

Advertisement

भैरहवा- होराइजन जीबीएस पनि भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा उसले देबदह बुद्ध पब्लिक इङ्गलिस स्कूललाई ७४ रनले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

Advertisement

टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले ६ विकेटको नोक्सानीमा १ सय ५६ रनको बलियो योगफल बनायो । उसका लागि अनुज अर्यालले ३९, शिवप्रसाद यादवले नटआउट ३४ र अरुणकुमार बेल्बासेले १६ रन बनाए । बलिङमा देबदह बुद्धका रोहित कुँवर, प्रिन्स शर्मा, कृष केसी, आयुष विक र आकाश विकले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको देबदह बुद्धले ६ विकेट गुमाएर जम्मा ८२ रन बनायो र हार ब्यहोर्यो । उसका लागि रोहित कुँवरले ३० र आयुष पाण्डेले १६ रन बनाए । बलिङमा होराइजन जीबीएसका शाहज अर्याल र सहनअली मुसलमानले २-२ तथा कुशल पौडेल र अरुण बेल्बासेले १-१ विकेट लिए । शाहज अर्याल प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ पाए ।

रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।