July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

अन्तरविद्यालय क्रिकेटः न्यु होराइजन स्कूल सेमिफाइनलमा

Advertisement

भैरहवा- न्यु होराइजन स्कूल स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा अमरज्योति बोर्डिङ स्कूललाई २ सय ५ रनले पराजित गर्दै न्यु होराइजन सेमिफाइनल पुगेको हो ।

Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ४ विकेट गुमाएर २ सय ३५ रनको विशाल लक्ष्य खडा गर्यो । उसका लागि प्रिन्स पाल र आरुष अधिकारीले अर्धशतकीय पारी खेले । प्रिन्सले ८९ रन र आरुषले ८२ रन बनाए । यस्तै, सफल भट्टराईले २१, समिरसिंह ठकुरी र अनिश भट्टराईले समान ११–११ रन जोडे । बलिङमा अमरज्योतिका सम्राट बराल र रवि खानले २–२ विकेट लिए ।

जवाफमा अमरज्योति १२ ओभर ४ बलमा सबै विकेट गुमाएर ३० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका अनिश भट्टराईले ३, प्रिन्स पाल र अमृत अर्यालले २–२ तथा रिजन ढकोर र श्रीयांन्स ज्ञवालीले १–१ विकेट लिए । अमरज्योतिका आयुष श्रीवास्तवले सर्वाधिक १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रिन्स पाल प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।