June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

‘अर्बपति’को खल्लो र खाली कुर्सी कार्यक्रम !

Advertisement

भैरहवा– एक साताअघि बुद्ध जन्मस्थल लुम्बिनीमा २५ जना अर्बपति आउने खबर हावासरी फैलियो । लामो समयपछि विश्वका विभिन्न मुलुकबाट धनाढ्य आउने खबरले लुम्बिनी बिकास कोष, पर्यटन व्यवसायी, स्थानीय र सरोकारवालाका कान ठाडा भए । रुपन्देहीमा रहेका पाँचतारे लगायत सुविधा सम्पन्न होटलका सञ्चालक र व्यवस्थापकले अर्बपति सहभागी हुने कार्यक्रमबारे सोधखोज गर्न थाले ।

Advertisement

कहाँ, कहिले, किन, को सम्पर्क व्यक्ति, कार्यक्रममा के–के गतिविधि हुन्छन् जस्ता प्रश्न गरिरहेका थिए । तर, कसैलाई पनि आयोजक र कार्यक्रमबारे प्रष्ट जानकारी थिएन । चासो व्यक्त गर्नेले पनि आयोजक र कार्यक्रम ढाँचाबारे जवाफ दिने अवस्था थिएन । संघीय राजधानी काठमाडौंबाट प्रशारित खबरले लुम्बिनीमा आयोजना गरिने ‘शान्ति सम्मेलन’ले पर्यटन व्यवसाय उकासिने आसा जगाइरहेको थियो । तर, समाचार पढ्नेले पनि कार्यक्रमबारे पर्याप्त जानकारी प्राप्त नगर्दा अन्योल सिर्जना भएको थियो । कार्यक्रम आयोजना हुँदैं भनेर ‘हल्ला’ फैलाइए पनि कार्यक्रम स्थल र आयोजकबारे लुम्बिनी बिकास कोषलाई समेत दुई दिनअघि जानकारी मिल्नुले यसलाई कति गोपनीय तुल्याइएको थियो भन्ने स्पष्ट हुन्छ ।

लुम्बिनी, तिलौंराकोट र रामग्राम क्षेत्रको बिकासका लागि गठन भएको कोषलाई आफ्नै परिसरमा आयोजना हुने कार्यक्रमबारे पत्तै थिएन । बल्लतल्ल आयोजकले कोषलाई दुई लाख रुपैयाँ तिरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यक्रम सञ्चालन गरे । आयोजकले समन्वय नगरेपछि तेस्रो शान्ति सम्मेलन भनिएको कार्यक्रममा बिहीबार लुम्बिनी बिकास कोषको संलग्नता रहेन । कार्यक्रमस्थल बाहिर कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामा र सदस्य सचिव दीपक श्रेष्ठको कार्यालय छ । कार्यक्रममा दूबै जना सहभागी भएनन् ।

उपाध्यक्ष लामा बुधबार नै काठमाडौं गइसकेका थिए । भने, सदस्य सचिव श्रेष्ठ पनि सहभागी भएनन् । पत्राचार गरेर सहभागी नहुने जानकारी दिएको कोषले जनाएको छ । यसैबाट लुम्बिनीमा आयोजित कार्यक्रम कति सान्दर्भिक भन्ने जानकारी मिल्छ । कार्यक्रमको तयारीका लागि भनेर साता अघि नै आयोजक लुम्बिनी आइसकेका थिए । उनीहरु लुम्बिनीकै पाँचतारे होटलमा बसेका थिए । तर, कसैसित छलफल र सहकार्य गरिएको देखिएन । यस कार्यक्रमको आयोजकमा लुम्बिनी बिकास कोष र नेपाल पर्यटन बोर्ड पनि सहभागी रहेको बिहीबारमात्र सार्वजनिक भयो ।

लुम्बिनीको सम्मेलन केन्द्रमा अर्बपति सहभागी हुने कार्यक्रम भनेपछि चासो दिएर अवलोकन गर्न पुग्ने पनि देखिए । निम्ता नरहेको भन्दैं सहभागी नहुने पनि देखिए । आयोजकले सम्मेलन केन्द्रभित्र एक हजार हाराहारी कुर्सी सजाएका थिए । तर, ती कुर्सीमा सहभागी शून्य जस्तै थिए । बिहान एकछिन केही सहभागी थिए । मध्यान्ह लगभग ९० प्रतिशत कुर्सी खाली थिए । खाली कुर्सी सामु इथोपियाका पूर्व प्रधानमन्त्रीले नेपालको बिकासमा युवाको अपरिहार्यताबारे बताइरहेका थिए ।

उनको भाषा नबुझेर सिमितमात्रामा हलमा रहेका विद्यार्थी पनि आपसमा गफगाफ गरेर समय कटाइरहेका थिए । यो कार्यक्रमको हल्ला धेरै भयो । तर, स्थानीय पर्यटन व्यवसायीले सुको लाभ प्राप्त गर्न सकेनन् । दुई–चार होटलमा केही पाहुना राखिएको थियो । त्यसबाहेक पाहुना तिलोत्तमाको टाइगर प्यालेस बाई सोल्टीमा राखिएको थियो । आयोजकको ध्यान सरोकारवालाको भिडियो निर्माणमा केन्द्रित थियो । ४–५ दिनदेखि एउटा टिम स्थानीय तह, होटल एशोसिएसन, नागरिक समाजका अगुवाको भिडियो खिच्न मस्त थियो । ‘लुम्बिनीभित्रका होटल स्तरीय भए पनि पाहुना राखिएन,’एक होटलका व्यवस्थापकले भने, ‘स्थानीयलाई लाभ हुँदैन भने लुम्बिनीमा भएको कार्यक्रमको के अर्थ ।’

यो कार्यक्रममा ‘बिलेनियर’सँगैं नेपालका सेलिब्रेटी सहभागी हुने प्रचार गरिएको छ । तर, ती कार्यक्रम बन्द कोठा वा एकान्तमा भइरहेका छन् । यसको कारण के हो रु नागरिकले प्रश्न गरिरहेका छन । केही कार्यक्रम टाइगर प्यालेस बाई सोल्टीमा आयोजित छन् । शुक्रबार पश्चिम नवलपरासीको रामग्राम स्तुपमा कार्यक्रम हुने तय गरिएको छ । ‘के के न होला भनेर अर्बपतिको कार्यक्रम हेर्न गएको,’रुपन्देहीका एक सरकारी अधिकारीले भने, ‘स्वागत भाषण गर्ने बेला पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारादाप्रसादको छोरा निकेष अधिकारी देखेपछि टाप कसे ।’