June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

पाल्पा रामपुरमा ज्येष्ठ नागरिक स्कुल : मुलुकमैं पहिलो नमुना अभ्यास

Advertisement

भैरहवा–पाकापुस्ता तथा ज्येष्ठ नागरिकसँग धेरै ज्ञान शिप र अनुभव हुन्छन् । उनिहरुसगँ रहेको ज्ञान शिप र अनुभवलाई नया पुस्तामा पुर्याउन सक्ने हो भने अहिलेको मानव जिवनमा नैतिकता र मानविय मुल्य मान्यताको कमी हुदैन ।

Advertisement

अर्कोतर्फ, उनिहरुलाई समय व्यथित गर्नपनि समस्या हुने गरेको पाइन्छ । कहाँ जाने ? को सँग कुराकानी गर्ने ? उनिहरुको कुराकानी कस्ले सुनिदिने ? सारिरिक रुपमैंपनि पाका पुस्ता धेरै हिडडुल गर्न सक्दैनन् । विभिन्न स्वास्थ्य समस्या आइरहने भएकाले नियमित स्वास्थ्य चेकजाँच तथा उपचार र देखभालको आवश्यकता उनिहरुलाई परिरहेको हुन्छ ।

कतिपय पाकापुस्ता तथा ज्येष्ठ नागरिक त घरपरिवारको वेवास्ताको सिकार भएका छन् । उनिहरुलाई जिवनयापन गर्नमैं समस्या हुने गरेको छ । कतैबाटपनि माँया र आत्मसम्मान नपाउँदा उनिहरु बिरक्त मानेर चिन्ताले थलिने गर्छन् । पाकापुस्तामा हुने यिनै विविध समस्यालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकहरुलाई सम्मानसहितको सक्रिय जीवन जिउन सहज बनाउने उद्येश्यले पाल्पाको रामपुर नगरपालिकाले ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ ।

पाल्पा रामपुर नपा–५ स्थित रामघाट धाममा आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले गत बुधवारदेखि सञ्चालनमा ल्याएको छ । यस खालको स्कुल देशमै पहिलो पटक नमूना अभ्यास हो । जहाँ ज्येष्ठ नागरिक बिच स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट हुनुको साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्त्वपूर्ण सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले ज्येष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उनिहरुलाई सम्मान सहितको सक्रिय जीवन जिउने वातावरण निर्माण गर्न स्कुल सञ्चालनमा ल्याएको बताएका छन् । ज्येष्ठ नागरिकका सन्तानहरु रोजगारी तथा विभिन्न कारणले घर भन्दा बाहिर हुने गर्दा उनिहरु घरमा एक्लै हुने र निरस जीवन जिउनु पर्ने बाध्यता हुने गरेकाले आफ्ना दौतरीसँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेको भनाइ उनको छ । ‘पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ’ उनले भने । परम्परागत सीप हस्तान्तरणको केन्द्रका रूपमा समेत यसलाई विकास गर्ने लक्ष्य रहेको उनले जनाए ।

उनका अनुसार, ज्येष्ठ नागरिकहरुलाई धार्मिक प्रवचनसँगै फुर्सदको समयमा बात्ती काट्ने, दुना टपरी बनाउने लगायतका वातावरण निर्माण गरी बजारीकरणका लागि प्रबन्ध मिलाइएको छ । ।
उपप्रमुख बालकुमारी थापाले ‘पुस्तान्तरण सिप, हस्तान्तरण केन्द्र’ भन्ने अवधारणका साथ स्कुलको सुरुवात गरिएको बताएकी छन् ।

ज्येष्ठ नागरिक स्कुलका लागि आवश्यक भौतिक संरचना निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकार १ करोड २६ लाखभन्दा बढी खर्च भएको जनाइएको छ । ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, ज्येष्ठ नागरिक केन्द्र र आचार्य निवाससहित तीन वटा भवनसँगै प्रतिक्षालय निर्माण गरिएको छ । शारीरिक व्यायाम तथा थेरापीका लागि आधुनिक उपकरण जडान गर्नुका साथै नयाँ पुस्तालाई परम्परागत सामग्रीको बारेमा जानकारी दिन ढिँकी, जाँतो समेत निर्माण गरिएको छ ।

ज्येष्ठ नागरिक स्कुल जानका लागि ३ सयभन्दा बढी ज्येष्ठ नागरिकले नाम दर्ता गरिसकेका छन् । स्कुल भित्र ज्येष्ठ नागरिकहरुलाई प्रवचन सुन्ने, भजन कृतन गर्ने, स्वास्थ्य परीक्षण गर्ने व्यवस्थासहित दिवा खाजाको समेत व्यवस्था गरिएको छ । साँझमा सन्ध्या आरती समेत हुनेछ । ज्येष्ठ नागरिकहरुलाई आउन र जानका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।