June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

काँग्रेस रूपन्देहीबाट उम्मेदवारका लागि को–को भए सिफारिस ?

Advertisement

भैरहवा– नेपाली काँग्रेसका क्षेत्रीय समितिहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । आगामी फागुन २१ म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको हो । काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वगृहमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

Advertisement

क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाँणसहित क्षेत्रीय सभापति सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

क्षेत्रीय सचिव लेखनाथ भट्टराईका अनुसार समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको छ । क्षेत्रीय सभापति सुशील गुरुङले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सोमनाथ शर्मा, मिननाथ शर्मा, भिम प्रसाद न्यौपाने र मोहन सरदारलाई सिफारिस गरिएको जनाए । उम्मेदवार चयन सर्वसम्मत निर्णयबाट भएको गुरुङले बताए ।

यता रुपन्देही क्षेत्र नम्बर ५ बाट कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ क्षेत्रीय समितिबाट पूर्व अर्थराज्यमन्त्री तथा तीन पटकका प्रतिनिधिसभा सांसद भरतकुमार शाहको नाम एकल सिफारिस भएको हो । शाह यसअघि सार्वजनिक लेखा समितिको सभापति थिए ।

यसैगरी समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान, मामकला थापा, तथा राष्ट्रियसभाका लागि सूर्यमति उपाध्याय र शेषमन यादवको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्व सांसद फकरुद्दीन खानले बैठकमा प्रतिनिधि सभा सदस्यका लागि भरतकुमार शाहको नाम मात्रै प्रस्तावका रुपमा आएकोले उनको नाम सर्वसम्मत सिफारिस भएको बताए ।

यता काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य छन् । उनी काँग्रेस रुपन्देहीको पूर्व जिल्ला सभापति समेत हुन् ।

क्षेत्रीय कार्यसमितिले रज्जाकसहित हिरा बहादुर खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फ उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरिएको काँग्रेस रुपन्देही–१ का क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले बताए । समानुपातिकतर्फ गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम उम्मेदवारमा सिफारिस गरिएको छ । क्षेत्र नम्बर ४ बाट प्रमोदकुमार यादव, रजनी आचार्य र आरती केवटको नाम  सिफारिस भएको छ ।