June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

पश्चिम नवलपरासीको पण्डितपुरमा प्राचीन संरचना भेटिए

Advertisement

भैरहवा– गौतमबुद्धको मावली सहर कुन होला ? रुपन्देहीको देवदह कि ? पश्चिम नवलपरासीको पण्डितपुर ? यस विषयमा पुरातत्वविदबीच तर्क–वितर्क चलिरहेका छन् । यस तथ्यलाई पुष्टि गर्नका लागि बृहत् लुम्बिनी क्षेत्र अन्तर्गत पुरातत्व विभागले खोज अनुसन्धान अगाडि बढाइरहेको छ । यसैक्रममा पश्चिम नवलपरासीस्थित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा गरिएको पुरातात्विक उत्खननका क्रममा प्राचीन सहरका भग्नावशेष र पूर्वाधार फेला परेपछि उत्साह छाएको छ ।

Advertisement

सम्भावित कोलिय गणराज्यको राजधानी उत्खननमा प्राचीन संरचना फेला परेपछि उत्साह छाएको हो । उत्खनन कार्यमा पुरातत्व विभाग प्रतिनिधिसहित त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका ४० जना स्नातकोत्तर तहका विद्यार्थी समेत सहभागी छन् ।

पुरातत्व विभागका पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा गत कार्तिक २४ गतेदेखि उत्खनन टोलीले काम गरिरहेको छ । विगत वर्षहरूमा गरिएको भूभौतिक सर्वेक्षणको प्रतिवेदनका आधारमा गरिएको उत्खननमा प्राचीन इनार र इनार नजिकैका भवनका पूर्वाधारहरू फेला परेका छन् । उत्खननकर्ताहरूका अनुसार भेटिएका बस्तीको पर्खाल र इँट कुषाणकालको हुन सक्ने अनुमान छ ।

सबैभन्दा महत्वपूर्ण तथ्य, उत्खनन टोलीले यहाँ भेटिएका सामग्रीहरूको कार्बन डेटिङ (समय परीक्षण) गर्दा ती वस्तुहरू ईसा पूर्व ६ सय वर्ष पुराना रहेको पुष्टि भएको छ । यसले उक्त स्थान कोलिय गणराज्यको राजधानी भएको तथ्यलाई थप बल पुर्याएको छ । पुरातत्वविद्हरूको अनुमानमा यो प्राचीन राजधानी क्षेत्र करिब ३ हजार ६ सय वर्गमिटरमा फैलिएको छ ।

पुरातत्व टोलीका सहयोगी नारद यादवका अनुसार कार्बन डेटिङले बुद्ध जन्मनु पूर्वकालका सामग्री देखाएको छ । यसले कोलिय गणराज्यको राजधानी भएको पुष्टि गर्छ । कोलनगर क्षेत्र भगवान गौतम बुद्धलाई जन्म दिने आमा महामाया, पालनपोषण गर्ने प्रजापति गौतमी र बुद्धत्व प्राप्तिका लागि सहज सहयोग गर्ने पत्नी यशोधराको जन्मस्थल भएकाले यो संसारभरका बौद्धमार्गीहरूकालागि एक अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल हो ।

कोलिय राजाले स्थापना गरेको रामग्राम स्तुपालाई अहिलेसम्म मौलिक स्तुपको रूपमा बचाई राख्नमा कोलियहरूको ठुलो योगदान रहेको मानिन्छ । यसको खोज तथा प्रचारप्रसारले यस क्षेत्रको धार्मिक पर्यटनलाई ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।