सामूहिक खेल महोत्सव : छात्रामा संजीवनी र छात्रतर्फ मनकामनालाई उपाधि


भैरहवा– ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ अनन्तर्गत क्रिकेट प्रतियोगितामा छात्रातर्फ संजीवनी शिक्षा सदन र छात्रतर्फ मनकामना इङ्गलिस स्कूलले उपाधि हात पारेका छन् । आदर्श विद्या मन्दिरलाई पराजित गर्दै छात्रतर्फ मनकामनाले र नेपाल नालन्दा आवासीय उच्च माविलाई पराजित गर्दै संजीवनीले छात्रातर्फको उपाधि हात पारेका हुन् ।
भैरहवास्थित सिद्धार्थ मैदानमा सोमबार भएको छात्रातर्फ फाइनल खेलमा पहिला ब्याटिङ गर्दै नेपाल नालन्दाले ६२ रनको योगफल बनाएको थियो । प्रतिउत्तरमा संजीवनीले ६ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै सहजै जित निकाल्यो ।
यसैगरी, छात्रतर्फ पहिला ब्याटिङ गर्दै मनकामनाले आदर्श विद्या मन्दिरलाई बिजयका निम्ति १ सय रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आदर्श ८१ रनमै सीमित हुँदै १९ रनले पराजित हुन पुग्यो ।
बिजेता तथा उपबिजेता टिम र खेलाडीलाई प्रमाणपत्र प्रदान गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले खेलकुदको निरन्तर आवश्यक रहेको बताउँदै हार–जितलाई सामान्य रूपमा लिई आगामी यात्रालाई अझ उज्यालो बनाउँदै अघि बढ्न आग्रह गरिन् ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ को पहिलो चरणमा छात्र र छात्रा तर्फको क्रिकेट प्रतिगोगिता सम्पन्न भएको हो ।
महोत्सवको दोस्रो चरणमा मंसिर २३ र २४ गते नेपाल नालन्दा आवासीय माविमा भलिबल प्रतियोगिता हुनेछ । यसैगरी मंसिर २७ देखि २९ गतेसम्म पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा एथलेटिक्स अन्तर्गतका विभिन्न खेलकुदहरु हुनेछन् ।
खेलकुद महोत्सवमा १ हजार २ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । खेलका सबै बिधामा छात्र र छात्रातर्फ छुट्टाछुट्टै प्रतिष्पर्धा गराइने छ । खेल महोत्सवमा भैरहवा र आसपास क्षेत्रका १८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।








प्रतिकृया दिनुहोस्