June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

५ हजार जनाको सिकलसेल परीक्षण गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

Advertisement

दाङ– घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पश्चिम नेपालमा समस्याको रुपमा रहेको सिकलसेल एनेमियाको परीक्षण गर्ने भएको छ । सिकलसेल जाँच्ने मेसिन भित्रिएपछि पहिलोपटक ५ हजार जनामा परीक्षण गर्न लागिएको हो ।

Advertisement

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले हाल सिकलसेल एनेमिया भएका ३ सय १५ जनालाई उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा एक वर्षदेखि ६५ वर्षसम्मका बिरामी छन् । धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ भने केही योगी र दलित समुदायमा पनि देखिएको लम्सालले बताए । ५ हजार जनामा हुने परीक्षणबाट जिल्लामा सिलसेल एनेमियाको अवस्थाबारे जानकारी हुने र आगामी योजना निर्माणमा पनि यसले सहयोग गर्ने उनको भनाइ छ ।

दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई अबदेखि प्रतिष्ठानमा सिकलसेल एनेमिया रोग परीक्षण हुने जानकारी दिइसकेको प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीले बताए । सिकलसेल एनेमिया परीक्षणका लागि यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब प्रतिष्ठानमै नियमितरुपमा सञ्चालन हुने उनले जानकारी दिए । ‘सिकल’ भनेको हँसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । सिकलसेल भएको रक्तकोषिकालाई फाल्सीपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैन । मलेरियाको प्रतिरोधका लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ ।

आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनेमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको डा. पन्थीले बताए । उनका अनुसार यो पूर्णतया वंशाणुगत रोग हो । अहिलेसम्म देखिएका मध्ये दाङ, कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ । सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रक्तअल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड, करङ र पेट दुख्ने गर्छ । धेरै पीडा हुन्छ र जण्डिस पनि देखा पर्छ ।