रुख र माटो चोरी गर्ने पक्राउ, छुटाउन जनप्रतिनिधिकै दवाव


भैरहवा– माटो चोरी र रुख कटान गर्ने व्यक्ति पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको ओमसतिया–५, पट्खौलीस्थित जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी लैजाने गिरोहलाई पक्राउ गरी नगरपालिकाले थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जिम्मा लगाएको छ ।
नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठूला–ठूला रुख कटान गरी माटो ओसारपसार गर्दै गर्दा शुक्रबार नगर प्रहरीले नेपाल प्रहरीको सहयोगमा ट्याक्टर र केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । नगरपालिकाका अनुसार उक्त कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ भने एकजना फरार छन् ।
शुक्रबार साँझ करिब ५ बजेतिर लु १ त १६६ नम्बरको ट्याक्टर प्रयोग गरी उक्त जग्गामा रहेका रुख कटान तथा माटो निकासी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
नगरपालिकाका अनुसार पक्राउ पर्नेमा ओमसतिया–५, गौरी बस्ने अन्दाजी २७ वर्षीय छोटु भन्ने जयप्रकाश यादव, सोही ठाउँ बस्ने अन्दाजी ५३ वर्षीय जगदीश कोइरी पक्राउ परेका थिए । सिद्धार्थनगर–८ बस्ने अन्दाजी ३७ वर्षीय अनिल कुमार सराफ भने फरार छन् ।
ट्याक्टरसहित उनीहरूलाई सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाइएको थियो । त्यसलगत्तै सिद्धार्थनगर नगरपालिकाले उनीहरुलाई कारवाही र थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले जानकारी दिए ।
नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गाबाट लामो समयदेखि निरन्तर रूपमा रुख कटान र माटो उत्खनन गरी अवैध निकासी भइरहेको थियो । पक्राउ परेकाहरू बाहेक फरार व्यक्तिलाई पनि खोजी गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने, काटिएका रुख र निकालिएको माटोको मूल्याङ्कन गरी क्षतिपूर्ति भराइदिनुपर्ने तथा प्रचलित कानुन बमोजिम जरिवाना गर्नुपर्ने माग नगरपालिकाले गरेको छ ।
तर, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानमै रहेको बताएको छ । रुपन्देही प्रहरी प्रवत्ता सुरज कार्कीले के बिषयमा मुद्दा चलाउने भन्ने परामर्श भइरहेको बताए । आफूहरु परामर्शमा रहेको र साँझसम्ममा निष्कर्षमा पुगिने उनले बताए ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिलाई छुटाउन एउटा गिरोहले दवाव दिन थालेको छ । सिद्धार्थनगरका केही जनप्रतिनिधि पनि आरोपी छुटाउन लागेका छन् । प्रहरी स्रोत भन्छ, ‘ट्याक्टरलाई सामान्य जरिवाना गरेर पक्राउ परेका व्यक्ति छुटाउन दवाव आइरहेको छ । दवाव दिने जनप्रतिनिधि नै छन् ।’








प्रतिकृया दिनुहोस्