भैरहवामा दक्षिणबाट जहाज घुमाउनै समस्या, उड्डयन क्षेत्रका समस्या हल गर्न आन्दोलनको तयारी


भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मुलुककै गहना हो । तर, गहनाभित्र खिया लागेको कमैंले देख्छन् । विमानस्थल सञ्चालन भयो–भएन भन्दा भन्दैं वर्षौ वितिसक्यो । अहिलेसम्म विमानस्थल बिदेशी वायुसेवा कम्पनीको भरोसामा छ । नेपाल वायु सेवा निगमसित पर्याप्त जहाज नभएकाले ठूलो लगानीको विमानस्थल बिदेशी कम्पनीको भरोसामा पुगेको हो ।
विमानस्थल स्रोतका अनुसार हवाई उड्डयन क्षेत्रको ध्यान यात्रुलाई सुविधा दिन केन्द्रित हुनुपर्छ । तर, अहिले ठिक उल्टो भइरहेको छ । विमानस्थल बाहिर २० रुपैयाँ पार्किङ शुल्क छ । भित्र दुई रुपैयाँसम्म अशुली हुन्छ । विमानस्थल बाहिर ४–५ रुपैयाँमा पनि ट्याक्सी चढ्न पाइन्छ । विमानस्थल भित्रबाट ट्याक्सी चढ्दा छोटो गन्तव्यसम्म पनि २–३ हजार लाग्छ । विमानस्थलमा रहेको क्याफेको कफीको मूल्य चुक्ता गर्न धौं हुन्छ । यस्तोमा नेपालको नागरिक उड्डयन क्षेत्रमा समस्या नै समस्या छन् । ती समस्या हल गर्न कसैको ध्यान छैन ।
यी र यस्तै समस्या समाधानका लागि नेपाल हवाई यातायात नियन्त्रक संघ (नाटका) आन्दोलनमा उत्रिन लागेको छ । संघले एकसातापछि काठमाडौंबाट आन्दोलन गर्दैछ । उड्डयन क्षेत्रका विकृति सुधारका लागि दबाबका कार्यक्रम गर्न लागिएको संघले जानकारी दिएको छ । संघ केन्द्रीय अध्यक्ष मुरारीप्रसाद पौडेलले देशभरका उड्डयन सम्बन्धित कर्मचारीबाट राय र सुझाव संकलनपछि दबाबका कार्यक्रम गर्न लागेको जानकारी दिए ।
‘उड्डयन क्षेत्रको सुधारका लागि हामीले जानेका, सिकेका कुरा बताउँछौं,’ उनले भने, ‘हामीले दिने दबाब र सुझावबाट नागरिक उड्डयन प्राधिकरण व्यवस्थापनलाई सुधारका काम गर्न सहज हुनेछ ।’ दबाबका कार्यक्रम थाल्नु पूर्व देशव्यापी रुपमा कर्मचारीको सुझाव संकलन गरिएको उनले बताए । उनकाअनुसार संघको चौधौं कार्यसमिति चयन भएपछि तिहार लगत्तैं काठमाडौंस्थित त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरण लगायत सरोकारवाला कार्यालयमा छलफल आयोजना गरेर सुधारका लागि राय संकलन गरिएको थियो । गत कार्तिक १७ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय भैरहवा, कार्तिक १९ गते नेपालगन्ज, २३ गते पोखरा र २८ गते बिराटनगर विमानस्थल पुगेर कर्मचारीको राय र सुझाव संकलन गरिएको पौडेलले बताए ।
रायसुझाव संकलन कार्यक्रममा उड्डयन क्षेत्रमा काम गरेका अवकाशप्राप्त कर्मचारीलाई पनि समेटिएको थियो । ‘देशब्यापी दौडाह गरेर सुधारका लागि आवश्यक सुझाव संकलन गरेका छौं,’ उनले भने, ‘यसमा संघमा आवद्धमात्र नभएर अन्य सेवा समूह, कर्मचारी युनियन र सरोकारवालालाई सहभागी गराएका थियौं ।’ यसक्रममा सहभागीले उडानमा हुने ढिलाईलाई लिएर चिन्ता व्यक्त गरेका छन् । अहिले भइरहेको ढिलाईलाई तत्काल सुधार गर्न सुझाव प्राप्त भएको उनले बताए । हवाई सुरक्षालाई लिएर धेरै कर्मचारी र सरोकारवालाले प्रश्न उठाएका छन् ।
‘हाम्रा कमीकमजोरी तत्काल सम्बोधन गरेर निर्धक्क आकासमा उड्ने वातावरण बन्नुपर्ने धेरैको सुझाव छ,’ उनले भने, ‘यात्रु सुरक्षित रुपमा गन्तव्यमा पुग्ने कुराले उड्डयन क्षेत्रमाथि विश्वास पैदा गर्छ ।’ मुलुकमा जेन–जी आन्दोलनपछि रोकिएको कर्मचारीको क्षमताबृद्धि तालिम तत्काल सुरु गरिनुपर्नेमा जोड दिएका छन् । साथैं उड्डयन क्षेत्रमा आवद्ध कर्मचारीले पालन गर्नुपर्ने मापदण्ड कार्यान्वयन हुनेपर्ने सुझाव छ । ‘कर्मचारीका लागि अनिवार्य तालिम पनि बन्द गरियो,’ उनले भने, ‘तालिम रोकेपछि बिदेशी निकायले हवाई सेवामाथि प्रश्न गरिराख्छन ।’
संघले पूर्वाधारका नाममा आवश्यक क्षेत्रभन्दा बाहिर गएर भइरहेको लगानीप्रति ध्यानाकर्षण भएको जनाएको छ । अनावश्यक लगानीले गर्दा हवाई क्षेत्र नै पश्चगमनको बाटोमा अग्रसर भएको संघले जनाएको छ । ‘चितवनको भरतपुरमा विमानस्थल वरीपरि च्याउझैं ठूला भवन निर्माण भइसके,’ पौडेलले भने, ‘भैरहवामा विमानस्थल धेरै दक्षिण निर्माण गर्दा दक्षिणतर्फबाट जहाज घुमाउन नमिल्ने अवस्था छ ।’ झापाको चन्द्रगढीमा जहाज उड्ने वित्तिकै मेची नदी पार हुने समस्या रहेको उनले बताए ।
‘यस्ता विकृतिबारे नीति निर्माता, सांसद, प्रधानमन्त्री कोही बोल्दैनन्,’ उनले भने, ‘जसले जे प्रस्ताव ल्यायो, त्यही ठिक भन्ने गरेकाले धेरै समस्या भइसक्यो ।’ सहन नसक्ने अवस्था सिर्जना भएपछि संघले आन्दोलनको तयारी गरेको उनले बताए । नेपालको उड्डयन क्षेत्रमा रहेका विकृतिका कारण बिदेशीले बारम्बार प्रश्न उठाउने अवस्था आएको उनको भनाई छ । एक साता काठमाडौंबाट दबाब मूलक आन्दोलन थाल्ने उनले जनाए । ‘अर्को साताभरि काठमाडौंमा सरोकारवालासित सुधारका लागि प्राप्त सुझावबारे छलफल गर्छौ,’ उनले भने, ‘अर्को शुक्रबार सुझाव समेटेर स्वेतपत्र जारी गर्नेछौं ।’ आन्दोलनले अवरोध सिर्जना गर्ने नभई व्यवस्थापन र सरकारलाई सहयोग गर्ने उनको भनाई थियो ।








प्रतिकृया दिनुहोस्