भैरहवामा सामूहिक खेलकुद महोत्सव–२०८२ हुँदै


भैरहवा– रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा संचालित निजी विद्यालयहरुको छाता संगठन सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा मंसिर १९ गतेदेखि ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ हुने भएको छ । ‘स्थिरता र शान्तिका लागि खेलकुद’ भन्ने नाराका साथ संचालन हुने यो खेलकुद महोत्सव उक्त विद्यालय परिवारको २२ औं शृंखला हो ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी खेल महोत्सव हुने जानकारी दिएको हो । सामूहिक विद्यालय परिवारका अध्यक्ष समसाद इद्रिसीले विद्यार्थीहरुको शारिरीक र मानसिक विकासका लागि तथा उत्कृष्ट विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउनका लागि यो खेलकुद महोत्सव आयोजना गरिएको बताए । यस्तै, निजी विद्यालयहरुमा आपसी सम्बन्ध कायम गर्न, विद्यार्थीहरुबीच बौद्धिक, शैक्षिक, सांस्कृतिक लगायत प्रतिस्पर्धालाई निखारता ल्याउन र सामाजिक उत्तरदायित्वलाई बढवा दिन महोत्सव आयेजना गरिएको अध्यक्ष इद्रिसीले जनाए ।
उनका अनुसार खेलकुद महोत्सवमा १ हजार २ सय विद्यार्थीले विभिन्न विधामा स्पर्धा गर्नेछन् । विद्यार्थी, अभिभावक र अन्य समेत गरि करिक ८ हजार दर्शकले खेलको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । खेलमा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई कक्षागत रुपमा तीन समूहमा बिभाजन गरिएको छ । जसमध्ये कक्षा १ देखि ३ सम्मलाई सवजुनियर, कक्षा ४ देखि ६ सम्मलाई जुनियर र ७ देखि १० सम्मलाई सिनियर तह गरी छुट्याइएको अध्यक्ष इद्रिसीले जानकारी दिए ।
यसैगरि उचाइको आधारमा सवजुनियर तहमा ४ दशमलव ६ फिटसम्म, जुनियर तहसम्म ५ दशमलव २ फिट र सिनियर तहमा १८ वर्ष उमेर नपुगेका ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलमा सहभागी हुन पाउने छन् । खेलकुद महोत्सवमा क्रिकेट, भलिबल र विभिन्न एथलेटिक्स खेल समावेश छन् । जसमा ५० मिटरदेखि ८ सय मिटरसम्मको दौड प्रतियोगिता, लमजम्प, सटपुट लगायत समावेश छन् ।
खेलका सबै बिधामा छात्र र छात्रातर्फ छुट्टाछुट्टै प्रतिष्पर्धा गराइने छ । अध्यक्ष इद्रिसीका अनुसार खेल महोत्सव अन्तर्गत मंसिर १९ देखि २२ गतेसम्म सिद्धार्थ रंगशालामा क्रिकेट प्रतियोगिता हुनेछ । यस्तै, मंसिर २३ र २४ गते नेपाल नालन्दा आवासीय माविमा भलिबल प्रतियोगिता हुनेछ । यसैगरी मंसिर २७ देखि २९ गतेसम्म पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा एथलेटिक्स अन्तर्गका विभिन्न खेलकुदहरु हुनेछन् ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले खेल महोत्सवले विद्यार्थीहरुको प्रतिभालाई बाहिर ल्याउन सहयोग पुग्ने जनाए । उनले खेल महोत्सव मात्रै नभई हरेक विद्यालय खेलकुद र ध्यानका कार्यक्रम हुन जरुरी रहेको बताए । प्रतियोगितामा गोल्डमेडलको आधारमा विद्यालयलाई विजेता घोषित गरिनेछ । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न ११ लाख ६१ हजार रुपैयाँ खर्च लाग्ने छ । खेल महोत्सवमा संस्थामा आबद्ध १८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।








प्रतिकृया दिनुहोस्