बेलहिया नाका सुन्दरीकरण र पर्यटनमैत्री बनाउन छलफल


भैरहवा– सिद्धार्थनगर नगरपालिकाले बेलहिया नाकालाई सुन्दरीकरण गराउने गरी स्थानीयसँग छलफल थालेको छ । सोमबार नगर प्रमुख इश्तियाक अहमद खाँले भारतसँग जोडिएको बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सरोकारवालाहरूसँग छलफल तथा स्थलगत अवलोकन गरेका हुन् ।
यसअघि जेनजी आन्दोलनका कारण रोकिएको बेलहिया नाका सुन्दरीकरण तथा हरियाली अभियानको कामलाई सुरु गराउन छलफल थालिएको हो । नाका सुन्दरीकरणका लागि लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । अब तत्काल काम अघि बढाउने विषयमा खाँले लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशी, पर्यटन डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसाल, इन्जिनियर रेशमराज आचार्यसहित सरोकारवालाहरूसँग स्थलगत निरीक्षण गर्दै छलफल गरेका हुन् ।
‘बेलहिया नाका नेपालको प्रमुख प्रवेशद्वारमध्ये एक हो । यसलाई सफा, सुन्दर र पर्यटनमैत्री बनाउन सकेमा लुम्बिनी भ्रमणमा आउने पर्यटकको पहिलो प्रभाव सकारात्मक पर्छ,’ नगर प्रमुख खाँले भने ।
पर्यटन परिषद्का कार्यकारी निर्देशक जोशीले बेलहिया नाकाको सुन्दरीकरणले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने बताए । पर्यटन डिभिजन कार्यालय प्रमुख भुसालले प्राविधिक तथा बजेटको हिसाबले काम अघि बढाउन कुनै समस्या नरहेको जनाए ।
नगर प्रमुख खाँले चाँडै काम अघि बढाएर सुन्दरीकरण, हरियाली, फुटपाथ, सडक बत्ती, स्वागतद्वार लगायत काम एकैसाथ सुरु गरिने प्रतिबद्धता व्यक्त गरे । बेलहिया नाका सुन्दरीकरणले नेपाल–भारत सीमा क्षेत्रको मुहार फेरिने र लुम्बिनी आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिकृया दिनुहोस्