कृषि र औद्योगिक क्षेत्रमा सहकार्य गर्न इजरायली राजदूतसँग उद्योगी–व्यवसायीको आग्रह


भैरहवा– नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बास र सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका पदाधिकारीबीच भेटघाट तथा अन्तरक्रिया भएको छ । त्यसक्रममा दुई देशका ज्ञान, सीप र प्रविधिको आदानप्रदानबारे अनुभव साटासाट भएको छ ।
बिहीबार उद्योग बाणिज्य संघमा आएका राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध ६५ वर्ष पूरानो भएको जनाए । दुई देशबीच सम्बन्ध प्रगाढ बनाउन स्वर्गीय विशेश्वरप्रसाद कोइरालाले भूमिका खेलेको भन्दै स्मरण गरे । उनले सुरुमा नेपालका किसानलाई इजरायलमा लगेर कृषिको विकास, आधुनिकीकरण र प्रविधिबारे सिकाएको जनाउँदै अहिले कृषि अध्ययनरत विद्यार्थीहरुलाई त्यसतर्फ लग्ने गरिएको जनाए ।
उनले बुद्ध जन्मस्थल लुम्बिनी र अन्य पर्यटकीय ठाउँको विकासमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । यस्तै, राजदूत बासले इजरायलका प्रविधिबारे सिकेर नेपालमा कृषि क्षेत्रको विकासमा प्रयोग गर्न आग्रह गरे । उनले इजरायल नेपालको हरेक क्षेत्रको विकासमा साझेदार गर्न तयार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीसँग आवश्यक सहकार्य गरिने बताए । उनले निर्यात हुने सामानको उत्पादन गर्न आग्रह गर्दै निर्यातमा इजरायलले सहजीकरण गर्ने बताए । राजदूत बासले नियमित उडान गर्न नसकिए पनि गौतमबुद्ध विमानस्थलमा इजरायलबाट कम्तिमा सिजनमा चार्टर्ड उडान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योगी केशब विक्रम खड्काले दुई देशबीचको सदियौं देखिको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्ने बताए । यस्तै, इजरायलमा काम र अध्ययन गर्न जाने नेपालीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरे । यस्तै नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति दुःख व्यक्त गरे ।
उनीहरुले नेपाल कृषि प्रधान मुलुक भएको जनाउँदै इजरायली कृषि प्रविधि र प्राविधिक ल्याएर यहाँको कृषिमा टेवा दिनका लागि पहल गर्न राजदूत बाससँग आग्रह गरे । यस्तै, दुई देशबीच आयात–निर्यातको वातावरण बनाई त्यस्ता क्षेत्रमा लगानी बढाउन सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्तै, औद्योगिक क्षेत्रमा ज्ञान, सीप र प्रविधिको प्रयोगमा सहकार्य गर्न उनीहरुको आग्रह छ ।








प्रतिकृया दिनुहोस्