बंगुर पालन व्यवसायमा अपनाउन थालियो जैविक सुरक्षा


भैरहवा– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बंगुर र सुंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएपछि रुपन्देहीका बंगुर र सुंगुर पालक किसानले सुरक्षा सावधानी अपनाउन थालेका छन् ।
बुटवल उपमहानगरपालिका–११, कालिकानगरका बंगुर पालक किसान धनबहादुर बुढाथोकीले बंगुर र सुंगुरमा संक्रमण हुने अफ्रिकन स्वाइन फिभरबाट जोगाउन बंगुर र सुंगुर फर्महरुमा सुरक्षा बिधी अपनाउन थालिएको बताए ।
‘बंगुर र सुंगुरमा यो संक्रमण हुन नदिन हामी व्यवसायिक किसानले आ–आफ्ना फर्महरुमा जैविक सुरक्षा अपनाउन थालेका छौं’, बंगुर व्यवसायी संघ रुपन्देहीका सल्लाहकार समेत रहेका बुढाथोकीले पब्लिक कुरासँग भने, ‘फर्म तथा खोरमा बाहिरका मान्छेलाई अवात जावत गर्नमा रोक लगाएका छौं र पाल्नका लागि बंगुर र सुंगुरका बच्चा ल्याएका छैनौं ।’
अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट बंगुर र सुंगुर मरेर व्यवसायिक ठुलो आर्थिक क्षती किसानले बेहोर्नु पर्ने अवस्था आउने भएकाले संक्रमण हुन नदिन पूर्व सावधानी अपनाउन सबै बंगुर र सुंगुर व्यवसायिक किसानलाइ सूचना जारी गरिएको उनले बताए ।
रुपन्देही जिल्लामा बंगुर र सुंगुरका व्यवसायिक किसान कति छन् ? भन्ने आधिकारिक तथ्याङ्क सरकारी स्तरमा छैन । केही बर्ष अगाडि जिल्ला पशु सेवा कार्यालय रहँदासम्म यो संख्या १ सय ७ थियो । बंगुर व्यवसायी संघ, रुपन्देहीमा दर्ता भएका फर्मको संख्या चार दर्जन भन्दा धेरै छ ।
केही दिन अघि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित बिक्रीका लागि राखिएको बंगुरको मासु परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएपछि नगरपालिकाले हाटबजारमा बंगुर र सुंगुरको मासु बिक्री वितरणमा रोक लगाइएको छ । यही संक्रमणका पश्चिम नवलपरासीमा १ सयको हाराहारीमा बंगुर मरेको प्रारम्भिक अनुमान गरिएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, भैरहवाका पशु विकास निर्देशक डा.परवेज आलमले रुपन्देहीका बंगुर र सुंगुरमा यो संक्रमण हुन नदिन बंगुर र सुंगुर पालक सवै व्यवसायिक किसानलाई सचेत गराइएको र समन्वय गरिएको बताउँछन् ।
‘भाइरसको माध्यमबाट पैmलिने यो संक्रमणका बिरुद्ध कुनै खोप तथा उपचार छैन । सचेतना जगाउँदै जैविक सुरक्षा अपनाउनुको बिकल्प हुँदैन’, आलमले भने, ‘यसको संक्रमण मान्छेमा हुने नभइ बंगुर र सुंगुर मरेर व्यवसायिक आर्थिक नोक्शानी हुने हो ।’
उनका अनुसार, यसको संक्रमणबाट बंगुर र सुंगुरलाई जोगाउन बाहिरी व्यक्तिलाई आवत जावत गर्न नदिने, फर्म बाहिरको बंगुर र सुंगुरको बच्चा नल्याउने तथा अन्य बंगुर र सुंगुर संसर्ग हुन नदिने, फर्म तथा खोर वरिपरी चुना छर्किने र स्यानेटाइजरको प्रयोग गर्ने, भाइरस परीक्षण गरिएको दानाको प्रयोग गर्ने जस्ता जैविक सुरक्षा बिधि अपनाउनु पर्छ ।

उक्त केन्द्रका पशु विकास अधिकृत सुरेशप्रसाद मिश्रले संक्रमण हुनु अगावै बंगुर र सुंगुरलाई भ्याक्सिन लगाउने र संक्रमण हुन नदिन पूर्व सचेतना अपनाउनुको बिकल्प अन्य उपचार नभएको बताए । ‘यो संक्रमण भइसकेपछि बंगुर र सुंगुरमा माहामारीको रुप लिने गर्छ’, मिश्रले भने, ‘यसको संक्रमण मान्छेमा भएर तत्कालै मानवीय क्षती भएको प्रमाणित जानकारी भने छैन ।’
तर, यसको संक्रमण बाट जोगिन तथा सर्तकता अपनाउने वारेमा हालसम्म पालिकामा रहेका पशु शाखाहरुले भने कुनै चासो नदेखाएको गुनासो व्यवसायीहरुको छ ।
बंगुर व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष तथा देवदह–१ का व्यवसायी सोमबहादुर पचभैयाले भारतीय सिमा नजिक लाग्ने गरेका सिमावर्ती हाटबजारमा बिक्रीका लागि भारतबाट ल्याइने बुंगुर र सुंगुरको मासुबाट नेपालमा यो रोगको संक्रमणको जोखिम बढेको बताए ।
‘सिमावर्ती नेपाली हाटबजारमा राखिने बुंगुर र सुंगुरको मासुको परिक्षण गरेर सावधानी अपनाउन जरुरी छ’, उनले भने, ‘हामीले आफ्ना खोर तथा फर्ममा सुरक्षा सावधानी अपनाएका छौं । हाम्रा फर्म तथा खोरबाट भन्दा पनि भारतबाट बिक्रीका लागि ल्याइने मासु र होटेल, रेष्टुरेन्टमा सढे गलेको खाना प्रयोग गर्नेबाट बढी जोखिम छ ।’








प्रतिकृया दिनुहोस्