लुम्बिनीका सीमा क्षेत्रबाट राजस्व चुहावट बढ्योः मुख्यमन्त्री आचार्य


भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका नेपाल–भारत सिमाक्षेत्रका भन्सारहरूमा राजश्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराएका छन् । खासगरी जेनजी आन्दोलनपछि राजस्व चुहावट बढेको मुख्यमन्त्रीको भनाई छ ।
मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले खुला सिमानाबाट राजश्व चुहावटका गतिविधि नरोकिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन् । ‘अहिले पनि मिलेमतोमा भन्सार छलि गरेर सामान भित्र्याइन्छ । यसको नियन्त्रण कसले गर्ने हो ? यसबारेमा हामी गम्भीर छौं कि छैनौं ? आज देशको राजश्व संकलनमै गम्भीर बन्न सकेका छैनौं,’ उनले भने, ‘यो विषयमा विस्तृत छलफल गरेर जनताले सुशासनको अनुभूति पाउनेगरी कार्ययोजना बनाइनेछ ।’ उनले भन्सारबाटै ट्रकका ट्रक तस्करी भइरहेको जनाए ।
ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै उनले ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे । पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उनको भनाइ थियो । यस्तै, उनले भदौं २४ गने तोडफोड र आगजनी गर्ने वास्तविक जेनजी नभएको बताए ।
आन्दोलनका क्रममा हतियार लुटिएको र कैदीबन्दी फरार रहेकाले निर्वाचन सुरक्षामा चुनौती थपिएको जनाए । ‘हामीले हतियार र कैदीबन्दी फिर्ता ल्याउन सकेनौं भने र लुटपाट र तोडफोडमा संलग्नलाई कारबाही गर्न सकेनौं भने मुलुकको अवस्था कस्तो होला’, उनले प्रश्न गर्दै भने, ‘अझै पनि जनता भयभयित अवस्थामा छन्, सुरक्षाकर्मीको बनोबल माथि उठ्न सकेको छैन ।’
मुख्यमन्त्री आचार्यले संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयन अहिलेको मुख्य प्रश्न रहेको बताए । कुनै नेता गलत होलान तर, सिस्टम बिग्रिएको छैन,’ उनले भने, ‘कतिपय नेताहरू बिग्रिएका होलान, तर सिस्टम बिग्रिएको छैन । प्रणाली बिग्रिएको छैन । यो कुरा आत्मसात गर्नु सबै निकायका लागि जरुरी छ ।’
उनले सुरक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता औंल्याए । आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति जलाउनेहरूलाई कानुनी दायरामा ल्याउन संघीय सरकार गम्भीर हुनुपर्ने बताए । अहिले पनि अराजक समूह राज्यका निकायलाई कमजोर तुल्याउन सक्रिय रहेको र ढुक्क भएर कार्य सम्पादन गर्ने अवस्था नभएको जनाए । जेनजी आन्दोलनका क्रममा फरार व्यक्तिले छाती फुल्याएर हिंड्ने अवस्था रहेसम्म सुरक्षा प्रत्याभूति नहुने उनको भनाई थियो ।
यस्तै, मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनिकरण गर्ने अभियानमै प्रदेश सरकार रहेकाले स्पष्ट पारे । ‘सरकारको नेतृत्व सम्हाल्दा गरेका संकल्प र अठोट पूरा गर्नेगरी काम अघि बढेका छौं । सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनिकरणको रणनीति बनाएर काम गरिरहेका छौं । मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेका छौं’, उनले भने, ‘पूर्व विशिष्टका सेवा–सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो ।’ गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो ।








प्रतिकृया दिनुहोस्