June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

साझा प्रतिबद्धताबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

Advertisement

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैंगिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका छन् । संविधानले समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको बताउदै लैंगिक हिंसा अन्त्यका लागि कानुनमा तोकिएका प्राबधानहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, हिंसा प्रभावितको उपचार, संरक्षण तथा पुनस्र्थापनाका उपाय थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको जानकारी पनि दिए । प्रदेश सरकारले लैङ्गिक समानता नीति निर्माण गरी कार्यान्वयनमा ल्याइसकिएको, जसले महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । ‘लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध प्रदेश निर्माणको आधार मानेको छ । यसका लागि लैङ्गिक समानता नीति तयार गरी कार्यान्वयनमा जोड दिइएको छ’, सन्देशमा भनिएको छ, ‘यो नीतिले महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको छ ।’

यस्तै प्रदेश सरकारले निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि एक प्रतिशत आरक्षणको व्यवस्था गरी समावेशीतालाई संस्थागत गर्दै लैङ्गिक समानताको अभ्यासलाई मजबुत पारेको बताएका छन् । मुख्यमन्त्री आचार्यले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित र समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।