लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु


दाङ– लुम्बिनी प्रदेश सभाको सातौं (हिउँदे) अधिवेशन सुरु भएको छ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौं अधिवेशनको पहिलो बैठक बसेको हो । पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आह्वान सम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले सुनाएका थिए ।
यस्तै, बैठकमा सभामुखले प्रदेश सभा सदस्यहरुको उपस्थिति–अनुपस्थिति बारे जानकारी दिए । बैठकमा दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले भनाइ रराखेका थिए । बैठकमा बोल्दै सांसदहरु अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्बासे केसी, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादव, इन्द्रजित थारु, जमुना ढकाल, तुलसीप्रसाद चौधरीले विकास निर्माण, प्रदेश सरकारका काम, जनवीविकाका सवाल उठाएका थिए । यस्तै, सांसदहरुले अधिवेशन सफलताको शुभकामना दिए ।
अधिवेशनमा छलफलका लागि प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेश गर्नका लागि स्वीकृति दिएको छ ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउ सम्बन्धी विधेयक स्वीकृत गरेको थियो ।
यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको थियो । मुलुकमा भएको राजनीतिकि परिवर्तन र जेनजी प्रदर्शनपछि लुम्बिनी प्रदेश सभामा पहिलो पटक बैठक बसेको हो ।








प्रतिकृया दिनुहोस्