विद्यार्थीको माध्यमबाट विद्युतीय सुरक्षा सचेतना


भैरहवा–पछिल्लो समयमा बिद्युतीय उपकरणको प्रयोग बढ्दो छ । बढ्दो बिद्युतीय उपकरणसँगै बिद्युतीय दुर्घटनाको जोखिम पनि बढ्न थालेपछि न्युनिकरण गर्न आइतवारदेखि लुम्बिनी प्रदेशमा बिद्युतीय सुरक्षा सचेतना कार्यक्रम संचालन गरिएको छ ।
नेपाल बिद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई सुरक्षित रुपमा बिद्युतको प्रयोग गराउने उद्येश्य अनुरुप नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको पहलमा लुम्बिनी प्रदेश भरि यस खालको सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख इञ्जिनियर हरि प्रसाद पाण्डेले बढ्दो बिद्युतीय दुर्घटनालाई न्युनिकरण गर्न लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका २१ वटा बितरण केन्द्र मार्फत सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘धेरै बिद्यार्थी अध्ययन गर्ने सामुदायिक तथा सँस्थागत बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु मार्फत् सचेतना कार्यक्रमको सुरुवात गरिएको छ’ पब्लिक कुरासँग पाण्डेले भने, ‘बिद्यार्थी मार्फत दुर्घटनाबाट जोगिन अपनाउनु पर्ने सावधानीका वारेमा अभिभावक र समाजसम्म पुग्ने भएकाले सचेतना कार्यक्रम बिद्यालय केन्द्रित गरिएको हो ।’
लुम्बिनी प्रदेशका ५ हजार बिद्यार्थीलाई बिजुलीको सुरक्षित उपयोग कसरि गर्ने, चट्याङ बाट कसरि जोगिने, विद्युत चोरी गर्दा के कस्तो जोखिम हुन्छ र जरीवाना हुन्छ, बिजुलीको महसुल छिटो र ढिलो बुझाउदा हुने छुट र थप दस्तुर, घर तथा भपनमा अर्थिङ गर्दाका फाइदा लगायत्का बिषयमा जानकारी गराइएको छ ।
प्राधिकरणको भैरहवा बितरण शाखाले भैरहवास्थित सनसाइन आवासिय उच्च माविका बिद्यार्थीलाई प्रशिक्षण दिदै बितरण केन्द्र प्रमुख ईञ्जिनियर सन्जय मिश्रले अन्य दुर्घटनाको जस्तो बिद्युतीय दुर्घटनाको खतरा देख्न नसकिने र कुनै गन्ध नआउने भएकाले पुर्व आँकलन गर्न नसकिने भएकाले सावधानी अपनाउनुको बिकल्प नभएको बताए । मोबाइल चार्ज गर्ने र बिजुलीको स्विच प्रयोग गर्ने देखि बिद्युतबाट प्रयोग हुने ठुला ठुला साधन तथा उपकरणको प्रयोग गर्दासम्म सावधानी अपनाउनु पर्ने भनाइ उनको थियो ।
कहिलेकाही साना साना गल्तीले ज्यान नै जाने गरि ठुलो दुर्घटना हुने गरेका छन्’ मिश्रले भने, ‘बिद्युतको काम गर्ने मजदुर तथा मिस्त्री देखि सामान्य उपयोगकर्तासम्म सवैले बिजुलीको उपयोग गर्दा सावधानी अपनाउन जरुरी छ ।’ बिद्युतीय सुरक्षा सम्बन्धि कार्यक्रम घर घरमा गएर सञ्चालन गर्न सम्भव नहुने भएकाले बिद्यालयमा प्रशिक्षण दिन थालिएको र भैरहवा बितरण शाखा अन्र्तगत रुपन्देहीका १२ वटा पालिकाका बिद्यालयमा प्रशिक्षण दिइने उनले जनाए ।
गुणस्तरहीन बिद्युतीय उपकरण जडान, असुरक्षित कार्यस्थल तथा बातावरण र असुरक्षित कार्य अभ्यास नै बिद्युतीय दुर्घटनाको मुख्य कारण मानिएको छ । गुणस्तरिय बिद्युत उपकरणको प्रयोग गर्नमा र बिद्युतको काम गर्दा हेलचेक्रायाँइ नगर्न आग्रह गरिएको छ । नाङगो तथा चिसो हातखुट्टाले बिजुलीको स्विच नछुन र पैदल हिड्दा बाटो तथा सडकमा सकेसम्म बिजुलीको तारमुनिबाट नहिड्न बिद्यार्थीलाई सचेत गराइएको छ ।








प्रतिकृया दिनुहोस्