लुम्बिनीमा मांसहारी प्रचारले नकारात्मक असर


भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी आसपास बजारमा ठूला–ठूला होडिङ बोर्ड राखेर भइरहेको मांसहारी प्रचारले लुम्बिनीको प्रवद्र्धनमा नकारात्मक असर गरिरहेको सरोकारवालाले बताएका छन् । रुपन्देही जिल्ला प्रवेश गर्ने वित्तिकै बुद्ध जन्मस्थल पुगेको अनुभूति गराउनु पर्नेमा मांसहारी प्रचारले पर्यटकलाई नकारात्मक सन्देश प्रदान गरिरहेको उनीहरुको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले लुम्बिनी प्रवेशद्वारमै मांसहारी प्रचारका कारण आध्यात्मिक स्थलमा नभएर आधुनिक सहर प्रवेश गरेजस्तो अनुभूति हुने गरेको बताए । ‘लुम्बिनीमा पर्यटक बढाउन कस्तो वातावरण चाहिन्छ भन्नेबारे बहस गरौं,’ उनले भने, ‘कम्तिमा रुपन्देही जिल्ला पाइला टेक्नासाथ बुद्ध महशुष हुनुपर्यो ।’ लुम्बिनी परिसरमामात्र नभएर आसपास पनि हरियाली, बुद्ध मूर्ति, शान्त संगीत, बगैँचा निर्माण गरेर बुद्धमय वातावरण बनाउन सकिने उनको भनाई थियो ।
लुम्बिनी बिकास कोष परिसरभन्दा बाहिरका पर्सा, पडरिया, महिलावार लगायत बजारमा ठूला–ठूला होडिङ बोर्डमा मांसहारी खानाको प्रचार गरिएको छ । शाकाहारी खाना कमै उपलब्ध हुन्छन् । कोष परिसरभित्रको लुम्बिनी गाउँ क्षेत्रमा अहिले वनभोज खानेको भीडले हो–हल्ला हुन्छ ।
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आफ्नो संस्थाले २०६३ सालदेखि लुम्बिनीको प्रवद्र्धन गरिरहेको बताए । लुम्बिनीमा बौद्ध विश्वविद्यालय भएर पनि धेरै विद्यार्थी आकर्षित गर्न नसकिरहेकोमा उनले चिन्ता जनाए । ‘बौद्ध धर्म अनुयायीका सन्तानलाई यहाँ पढ्न आह्वान गर्न सकिन्छ,’ उनले भने, ‘त्यसबाट यहाँको पर्यटन प्रवद्र्धन हुन्छ ।’
लुम्बिनी पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि यहाँ बुद्धमय वातावरण निर्माणमा ढिलाई भइरहेको उनले बताए । स्थानीय सरकारले कम्तिमा लुम्बिनी बाहिर सडक दायाँबायाँ हरियाली निर्माण गरेर बुद्धमूर्तिले सजाउन सक्ने उनले बताए । स्थानीय होटल परिसरमा बुद्धमूर्ति स्थापना गरेर पूजा र ध्यानको वातावरण तयार गर्न सकेमा लुम्बिनी आएका पर्यटक रात बिताएरमात्रै फर्किने वातावरण बन्ने उनले जनाए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक प्रमुख कल्पना हरिजनले पर्यटकलाई कसरी सहजीकरण गर्ने र उनीहरुको बसाइँ लम्ब्याउन के गर्न सकिन्छ भन्नेबारेमा नगरपालिका पर्यटन व्यवसायीसित सहकार्य गर्न तयार रहेको बताइन् । ‘भारतीय पर्यटक देख्ने वित्तिकैं राज्यका सुरक्षा निकायको दृष्टिकोण फेरिन्छ,’ उनले भनिन्, ‘लुम्बिनीमा धेरै आउने भारतीय नै हुन् । उनीहरुलाई अध्यात्म वातावरण प्रदान गर्न सहकार्यका लागि तयार छौं ।’
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्माले नेपालको मात्र नभएर विश्वकै धरोहरको रुपमा रहेको लुम्बिनी प्रवद्र्धनका कार्यक्रम तयार गर्न लागिपरेको बताए । ‘संघले लुम्बिनीमा बुद्धमय वातावरण तयार गर्न कार्ययोजना बनाउँदै छ,’ उनले भने, ‘अब आफै जागरुक बनेर साथै सरोकारवालालाई घचघचाएर लुम्बिनीको प्रभावकारी प्रवद्र्धन गर्छौं । यसमा सबैंको साथ सहयोग चाहियो ।’








प्रतिकृया दिनुहोस्