अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
एकफेर यसो परिकल्पना गरौं । यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो होला । यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधुनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिए तापनि विश्वभरि लगभग ७७ करोडभन्दा बढी मानिस सामान्य लेखपढ गर्ने सीप नभएका भन्ने स्पष्ट तथ्य अध्ययनहरूले देखाउँछ । हाम्रा छेउछाउमा बसोबास गरिरहेका हरेक उमेर समूहका कोही न कोही असाक्षर सजिलै भेटिन्छन् ।
सामान्य अक्षर चिनेर लेखपढ गर्न र अङ्कहरू अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो । तथापि यी कुराहरू कागजका पानाहरूबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ ।
साक्षरतासम्बन्धी ग्लोवल मनिटरिङ््ग रिपोर्टका अनुसार, संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाई महिलाहरू अझै पनि असाक्षर छन । अझ धेरैको अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् । अनि पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन् । पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।
कोरोना भाइरसका कारण यो वर्ष नेपाल समेत विश्वका धेरै राष्ट्रहरूमा विद्यालय खुल्न सकेका छैनन् । केही विद्यालयले अनलाइन कक्षामार्फत विद्यार्थीहरूलाई पढाइरहेका छन् भने धेरैजसो विद्यालयमा पठनपाठन ठप्प छ । डिजिटल शिक्षामा त्यति धेरै अघि नहुँदा नेपालका धेरै विद्यार्थीहरूले यो महामारीका कारण शिक्षाबाट टाढै रहनु परेको छ । हाम्रो संसारबाट यो भाइरस चाँडै हटेर जाओस् । विद्यालय फेरि संचालन हुन् । पठनपाठन छिट्टै शुरु होस् । हाम्रो कामना ।
सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वःस्फूर्त रूपमा मनाउने गर्छन् । सबै जना साक्षर हुनु सबैजनाको दायित्व हो । नेपालको परिपेक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताका लागि जनजागरण अझै अपुग्दो छ ।
‘Literacy for a human–centred recovery M Narrowing the digital divide’ भन्ने नाराका साथ सन् २०२१ को साक्षरता दिवस विश्वभर मनाइँदैछ । मानवकेन्द्रित पहुँचलाई ध्यानमा राखेर डिजिटल पहुँचलाई समान राख्न यस वर्ष पैरवी गरिएको छ । कोभिड–१९ को विनाशलाई सुधार गर्न साक्षरता पनि एउटा हतियार हो ।
हात–हातमा भएका मोवाइल अनि घरघरका इन्टरनेटहरू शिक्षा र साक्षरता भन्दा पनि नचाहिँदा सञ्चार अनि समय व्यतित गर्ने फजुल माध्यम मात्र बन्नु हुँदैन । लेखिने अक्षरहरू र अंकहरूको महत्व एकदमै धेरै र अतुलनीय छ । विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरूसँग सबैजना मानवको परिचय नगराइकन सम्भव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै वृद्धि गर्छ । अक्षर र अङ्कको महत्व अनि शिक्षाको उज्यालो मानवका लागि एकदमै जरुरी छ । आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमि हाम्रो पात्रोमा न त लेखिने थियो न पढिने थियो । अक्षरले भावना र जानकारी दर्शाउँछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्शाउँछ ।
नेपालमा पौढ शिक्षालगायतका कार्यक्रमहरूलाई पनि निरन्तरता दिन जरुरी छ, किनभने चाहे बालक होस या वृद्ध, शिक्षा सबैलाई जरुरी छ ।
खरिपाटी अनि धुलेपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेकादेखि कालोपाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरू हामीसँग छन् । भित्तामा झुण्ड्याएका चार्टमा ‘क’ बाट कछुवा पढेकादेखि कम्प्युटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ । तर फेरि पढ्न नजानेका अनि विद्यालय जानसम्म धौ–धौ पुस्ताहरू लगायत अक्षर नै नचिन्ने अनि औँठाछाप लगाउनुपर्ने ब्यक्तिहरू पनि यही समाजमा छौँ ।
उनीहरूलाई हामीले आफ्नो तर्फबाट के गरी साक्षरसम्म बनाउन सक्छौ । चाहे अक्षर–मालाका पुस्तकहरू पढाएर या निःशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कुलसम्म उनीहरूलाई पु¥याइदिएर नै हुनसक्छ । सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो । साक्षरताप्रति सबैको दायित्ववोध होस्, ‘शिक्षा धनं सर्वप्रधानम्’ ।
प्रतिकृया दिनुहोस्