आज विश्व फिजियोथेरापी दिवस
मानिसका प्राथमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ । त्यो दक्षता हो, मानवको गतिशीलता । गतिशीलताले नै मानिसलाई यहाँबाट उहाँ पुर्याउँछ । सपना अनि जानकारी दिलाउँछ । मानिस–मानिसबीचका सम्बन्ध स्थापित गर्छ, अनि मानिसलाई सामाजिक बनाउँछ ।
विभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यासबाट विमुख गर्न सक्छ । यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापिस्टहरूको सीप अनि अध्ययन आवश्यकता पर्छ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर–८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।
सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिंगले रोयल इन्टिच्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायम अनि अन्य कसरतहरूको शुरुवात गरेको हो ।
त्यसपछि सन् १८९४ मा बेलायतमा चार्टड सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ । फिजियोथेरापीको पहिलो कलेज भने अमेरिकाको वासिङटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्धताका यस अस्पतालमा फिजियोथेरापी शाखाको शुरुवात भएको हो ।
नेपालमा भने फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अघिमात्र केही निजी अस्पतालहरूले औपचारिक शुरुवात गरेको पाइन्छ । विस्तारै अब फिजियोथेरापीका सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धति अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत फिजियोथेरापी गरिने पाइन्छ ।
सन् १९८३ मा आईओएमले फिजियोथेरापीलाई एसएलसीपछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको इतिहास हामीले पायौ । तर पुन सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि विभिन्न अनौपचारिक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिल इन्स्टिच्यूटले फिजियोथेरापीलाई औपचारिक शुरु गरेको पाइन्छ । यसपछि क्रमशः नेपालमा पनि यो कोर्स अनि सेवाप्रदायक बढ्दै गएका हुन् ।
सशस्त्र द्वन्द्वपश्चात् विसं २०६३ पछि अंगभंग र घाइते सैन्यदस्ताको पुर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरूमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । ‘नेप्टा’ नामको नेपाली फिजियोथेरापिस्टहरूको पेशागत संगठन बनेको छ । फिजियोथेरापी आफैँमा उपचार पद्धतिको मेरुदण्ड हो । आजभोलि झन् अस्तव्यस्त जीवनशैली अनि निरन्तर कम्प्यूटर र मोवाइल प्रयोग गर्दाको अवस्थिति नमिल्नाले ढाड अनि गर्दनको दुखाई सामान्य र सबैभन्दा दोहोरिने पीडा भइसकेको छ ।
अंगभंग, अंग काट्नुपर्ने, दुर्घटनाको चोटपछि लगायत अन्य विभिन्न प्रक्रियामा फिजियोथेरापी अत्यावश्यक छ योगाभ्यासलाई पनि यहाँ फिजियोथेरापीसँग जोड्न चाह्यौँ । आर्युवेदले आहार र विहारलाई समान प्राथमिकता दिएको छ । योगाभ्यासहरू पनि परिस्कृत फिजियोथेरापीका आधारहरू हुन् । पतन्जली र धनवन्तरीका पुस्तक अनि अध्ययनहरूमा स्वस्थ रहन योगासनहरूको चर्चा पाइन्छ ।
गतिशीलता नै जीवन हो, स्वास्थ्यको ख्याल राखौँ ।
फिजियोथेरापिस्ट र सेवाग्राहीहरू सबैलाई शुभकामना !
प्रतिकृया दिनुहोस्