October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

ग्राहक दम्पतीले नै होटलको कोठाका सबै सामान चोरेपछि …

कतिपय मानिसको बानी नै चोरी गर्ने हुन्छ । केही चिज देख्यो कि चोरौँ, चोरौँ भन्ने लाग्छ । हालै एक दम्पतीले यस्तै हर्कत गरेक छन् । आफू बसेको होटलको कोठाका सबै सामान चोरेर ती पति पत्नीले रित्याइदिएका छन् ।

Advertisement

यो घटना बेलायतको वेल्समा भएको हो । स्थानीय डल्फिन नामक होटलका सञ्चालकका अनुसार उक्त ग्राहक दम्पतीले उनीहरु बसेको कोठाबाट २ सय पाउण्ड मूल्यका सामान चोरी गरेका छन् ।

Advertisement

उनीहरुले चोरी गरेका सामानको सूचि लामै छ । ती पतिपत्नीले चियाको कित्लीदेखि बिजुलीको पंखा र टावेलदेखि बत्तीसमेत चोरेका छन् । त्यस्तै चिया तथा कफी राखिएका बट्टा पनि उनीहरुले बाँकी राखेनन् ।

होटलमा चेक इन गर्ने बेलामा उनीहरु निकै मिलनसार देखिएको र त्यस्तो काम गर्ने भन्ने नसोचेको होटल मालिक बताउँछन् । उनीहरुले आफूसँग निकै कम सामान ल्याएका थिए, सायद चोरी गरेर सामान लैजानका लागि त्यसो गरेका रहेछन् ।

होटलको कोठामा धेरैजसो सामान चोरी भएसँगै होटल व्यवस्थापनले केही दिनका लागि उक्त कोठा बन्द गरेर राख्नु परेको छ । त्यहाँबाट चोरी भएका सामानहरु नयाँ किनेर नल्याएसम्म अरु पाहुनालाई सो कोठा भाडामा दिन नसकिएको होटलका मालिक बताउँछन् ।

बेलायती पत्रिका मिररका अनुसार होटल मालिकले ती दम्पतीलाई पक्राउ गर्नका लागि प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।

सिसिटीभी फुटेजमा उनीहरुले सामान भरिएका ठूला ठूला झोला लिएर होटलबाट पटक पटक बाहिरिएको र कारबाट ओसारेको देखिएको छ । प्रहरीले उनीहरु होटलमा चेकइन गर्नका लागि प्रयोग गरिएको बैंक कार्डका आधारमा ४३ वर्षका मार्टिन रेन्डेल नामक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । – एजेन्सी