March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

केही अनौठा तथ्य

टाल्सटोयका जीवनशैली
रुसी साहित्यकार टाल्सटोयको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी विश्वविख्यात साहित्यकारमा पर्छन् । उनले ऐतिहासिक महत्वका पुस्तक मात्र लेखेका छैनन् आफू स्वयं पनि ऐतिहासिक विशेषताका व्यक्तित्व बनेर चिनाएका छन् । उनी आफैँ उच्च घरानाका सदस्य थिए तर तिनको प्रशंसा भने कहिल्यै गरेनन् । उल्टै धनीमानी र उच्च घरानाका आलोचना गर्दै साधारण जीवनशैली अप्नाएका छन् । शुद्ध र सादा खाना रुचाउने  यी साहित्यकारले लगाउने लुगा र जुत्ता सर्वसाधारण मानिसको जस्तै हुन्थ्यो, जुन आफ्नै हातले सिलाउँथे ।  

Advertisement

विचित्रको प्राणी
संसारमा विभिन्न किसिमका जीवजन्तु रहेका छन् । यस्तैमा जलभालु वा मोस पिग्लेट पनि पर्छ, जो जस्तोसुकै वातावरणमा पनि जीवित रहन सक्छ । प्रायः हिले धापमा बस्न रुचाउने यो जीव माइनस २०० डिग्री सेल्सियसदेखि ३०० डिग्री सेल्सियस तापक्रममा समेत सजिलै बाँच्न सक्छ । वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा समेत जीवित रहन सक्ने यस जीवमा कडा विकिरण उम्लिरहेको तरल पदार्थ र समुद्रको सबैभन्दा गहिराइमा रहेको दवावभन्दा छगुणा बढी दबाबमा समेत बाँच्न सक्ने सामथ्र्य रहेको पाइएको छ । 

Advertisement

सानो छेपारो 
पृथिवी नामक ग्रह साच्चै विचित्रको छ, जहाँ ठूला ठूला जीवजन्तुदेखि अत्यन्त साना जीवजन्तुसमेत रहेका हुन्छन्  । तीमध्ये हालसम्म कतिको अनुसन्धान भइसकेका छन् कतिको अनुसन्धान हुन बाँकी नै छ । कतिको त अनुसन्धान सुरू हुनै अरू कति समय लाग्ने हो यसै भन्न सकिन्न । हालै मडागास्करमा पत्ता लागेको छेपारो पनि यस्तैमा पर्छ,  जसको आकार मात्र २८.९ मिलिमिटर रहेको छ । यसले यही प्रष्ट गर्छ कि पृथिवीमा अनुसन्धान हुन बाँकी प्राणी धेरै छन् ।  

हाँसोको विशेषता
हाँसो मानिसको स्वभाविक गुण हो । यसलाई न कसैले सिकाउनुपर्छ न अह्राउनुपर्छ । मानिसले जन्मजात लिएर आएको यो गुण मृत्युसम्म साथमै रहेको हुन्छ तर हाँसो के हो र उसको शक्ति कति छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । विशेषज्ञहरूका अनुसार आधा मिनेट खित्का छोडेर हाँस्ने हो भने ४५ मिनेट विश्राम गरेजत्तिकै आराम मिल्छ । एउटा स्वभाविक हाँसोबाट तीन मिनेट एरोबिक व्यायाम गरे जत्तिकै उर्जा मिल्छ । त्यस्तै दशपटकको मीठो मुस्कानले मेसिनको सहायताले दश मिनेट व्यायाम गरेजत्तिकै फाइदा पाउन सकिन्छ । स्रोत- युवामञ्च मासिकका विभिन्न अङ्क