चारतारे गौतमबुद्ध इन्टरनेसनल होटलमा क्यासिनो सञ्चालन


भैरहवा– रुपन्देहीको सिद्धार्थनर–१०, स्थित गौैतमबुद्ध गौतमबुद्ध इन्टरनेसल होटल प्रालिमा मिनी क्यासिनो सञ्चालनमा आएको छ । यसअघि गौतमबुद्ध एयरपोर्ट होटल रहेको होटललाई क्यासिनोसहित स्तरबृद्धि गरेर चार तारे बनाइएको छ । नयाँ व्यवस्थापनसहित अब गौतमबुद्ध इन्टरनेशल होटल नामबाट सञ्चालनमा आएको हो ।
होटलमा रोयल कालिङ्गा मिनि क्यासिनो समेत सञ्चालनमा आएको हो । क्यासिनो व्यवस्थापनले पूजा गरेर यसको सुरुवात गरेको हो । १५ करोड रुपैयाँभन्दा धेरैं लगानी गरेर क्यासिनो सञ्चालनमा ल्याइएको मनलक्ष्मी इन्टरप्राइजेजले जनाएको छ । क्यासिनोका महाप्रबन्धक लक्ष्मण बोहराले हस्पिटालिटी क्षेत्रमा आफ्नो लामो अनुभव उपयोग गरेर व्यवस्थित रुपमा क्यासिनो सञ्चालन गर्ने जनाए ।
उनकाअनुसार क्यासिनोमा डेढ सय कर्मचारी छन् । भारत तथा तेस्रो मुलुकका पर्यटक लक्षित गरेर क्यासिनो सञ्चालनमा ल्याइएको उनले बताए । ‘हामीले भारतमा मार्केटिङमा जोड दिएका छौं,’ उनले भने, ‘त्यही अनुसार ग्राहकलाई सन्तुष्टि प्रदान गर्न सेवासुविधा उपलब्ध गराएका छौं ।’ क्यासिनो सञ्चालनका लागि आवश्यक सम्पूर्ण नियम पूरा गरिएको उनले बताए । राज्यको नियम पालना गरेर पर्यटकलाई सेवा दिन लागिपर्ने उनले जनाए ।
होटल पनि नयाँ सुविधा सहित स्तर बृद्धि भएको छ । होटलमा यसअघि ४० भन्दाबढी सुविधायुक्त कोठा थिए । अहिले चार तारेमा स्तरबृद्धिका लागि २० वटा कोठा थप गरिएको छ । यसको व्यवस्थापन सम्हालिरहेको माउरी सोलुसन हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवबहादुर खड्काले सुरुको लगानीमा थप २० करोड रुपैयाँ भन्दा बढी लगानी गरेर नयाँ स्वरुपमा होटल सञ्चालनमा ल्याइएको जनाए ।
होटल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ मिटर दूरीमै छ । पछिल्लोपटक होटलमा ५ सय जना अट्ने हल निर्माण गरिएको छ । होटलमा छतमा एक सय ५० जना अट्ने एयरपोर्ट भ्यूसहितको लाउन्ज सञ्चालनको अन्तिम चरणमा रहेको खड्काले बताए । यसकासाथै २४ सैं घण्टा स्पा, साउना, ज्याकुजी र स्टीम सुविधा उपलब्ध छ । होटलमा स्विमिङ पुल र हेल्थ क्लब समेत छन् ।
‘होटललाई अपग्रेड गर्न चार वर्षभन्दा धेरै समय लाग्यो,’ उनले भने, ‘विमानस्थल नजिकैैं स्तरीय होटल बनाएका छौं । यसबाट पर्यटक खुसी हुनेछन् ।’ होटल र क्यासिनोमा गरेर करिब ४० करोड लगानी थप भएको उनले बताए । नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको खण्डमा मात्र लगानी सुरक्षित हुने भएकाले त्यसका लागि दबाब दिन स्थानीय सरोकारवालसित उनले आग्रह गरे । होटलमा सबै गरेर एक अर्ब भन्दा बढी लगानी भएको छ ।








प्रतिकृया दिनुहोस्