July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

अरुको खाताबाट पैसा आफ्नोमा सारेर बदमासी गर्ने बैंक कर्मचारी पक्राउ

Advertisement

भैरहवा–आफ्नो बिश्वासमा रहेका बैंक ग्राहकको रकम आफ्नो खातामा स्थानान्तरण (ट्रान्सफर) गरेर बदमासी गरेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका एकजना कर्मचारी पक्राउ परेका छन् ।

Advertisement

उक्त बैंकको तौलिहवा शाखामा कार्यरत रिशभ कार्की नामका कर्मचारीलाइ नेपाल प्रहरीले पक्राउ गरेको हो । उनीमाथि बैंकिगं कसुरको अभियोगमा प्रहरीले कारवाही प्रकृया अगाडि बढाउने तयारी गरेको छ ।

समाचार स्रोतका अनु्ुसार, कार्कीले गरेको यो बदमाशी नेपाल इन्भेस्टमेन्ट मेगा बैँक लिमिटेडले आफ्नो लेखापरीक्षण गर्ने क्रममा फेला पारेपछि नेपाल प्रहरीलाई जानकारी गराएको हो । ‘उनले आफ्नै बिश्वासमा रहेका नातेदार तथा छरछिमेकीको रकम अपचलन गरेको पाइएको छ’ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमैं कार्यरत एक उच्च तहका कर्मचारीले पब्लिककुरालाई भने, ‘बिश्वासका कारण ती ग्राहकहरुको बैंकिगं सम्बन्धि धेरै गोप्य जानकारी प्राप्त गर्न सहज भयो ।’

कार्कीलाई कपिलवस्तुको इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरीले नियन्त्रणमा लिइएको हो । कार्कीले मोबाइल बैंकिगं र कनेक्ट आइपिएसमार्फत १ करोड ६५ लाख रुपैयाँ ट्रान्सफर गरी आफ्नो खातामा लगाएको आरोप रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।

प्रारम्भिक अनुसन्धानमा कार्कीले १६ जना ग्राहकको रकम अनधिकृत रूपमा आफ्नो खातामा सारेर हिनामिना गरेको पाइएको छ । उनले बैँकमा कार्यरत दुई कर्मचारीको पासपोर्ट र आइडी जानकारीको दुरूपयोग गर्दै रकम ट्रान्सफर गरेको कुरा खुल्न आएको छ ।

बैँकको केन्द्रीय कार्यालयले एउटै मोबाइल नम्बरबाट १६ जनाको विवरण देखिएपछि शङ्का लागेर प्रहरीलाई जानकारी गराएको थियो । घटनापछि बैँकको केन्द्रीय कार्यालयले दुई कर्मचारीलाई निलम्बन गरेको छ । शाखा प्रमुखसँग स्पष्टीकरण मागिएको छ ।