June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

२५ हजार क्विन्टल चामल थन्कियो

Advertisement

 

Advertisement

बर्दिया—निजी क्षेत्रको भन्दा बढी मूल्य भएपछि सरकारी स्वामित्वमा रहेका खाद्य कम्पनीको चामल बिक्रि नभएर गोदाममै थन्किएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरमा अघिल्ला वर्षको चामल नबिकेर गोदाममै थन्किएको हो ।

सरकारको पूर्णस्वामित्वमा रहेको कम्पनीले किसानको धान समर्थन मूल्यमा किनेर चामल उत्पादन गरी कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा पठाउँदै आएको छ । पछिल्लो समय ती जिल्लामा मोटो र मध्यम चामलको माग घट्दा गोदाममै थन्किएको छ ।

सरकारले तोकेको समर्थन मूल्यमा खाद्यले किसानको धान खरिद गर्छ भने निजी क्षेत्रले सस्तोमा खरिद गर्छ । खाद्यले महँगोमा धान खरिद गरी चामल उत्पादन गर्दा लागत नै महँगो पर्ने भएकाले मूल्य बढी हुने गरेको छ । सरकारी स्वामित्वमा रहेको खाद्यको भन्दा निजी क्षेत्रले सस्तोमा चामल उपलब्ध गराउँदा खाद्यको चामल बिक्न छोडेको हो ।

यस्तै अन्तर्राष्ट्रिय बजारबाट निर्बाध रुपमा भित्रिँदा खाद्यको चामल गोदाममा थन्किएको छ । अघिल्ला वर्षमा खरिद गरिएको धानबाट उत्पादित २५ हजार क्विन्टल चामल गोदाममा मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरमा प्रमुख कमलराज पाण्डेले बताए ।

‘अघिल्लो वर्षको २० हजार क्विन्टल भन्दा बढी धान कुटानी गर्न बाँकी छ । पुरानो धान–चामलले गोदाम भरिँदा अहिले खरिद गरिएको धान राख्न समस्या भइरहेको छ,’ प्रमुख पाण्डेले भने,‘सम्बन्धित निकायले नागरिकलाई सहुलियत दिएर खाद्यान्न उपलब्ध गराउने वातावरण बनाएको खण्डमा चामल खपत हुने आपेक्षा छ । गोदाम खाली नभएपछि तत्कालका लागि स्थानीय तहसँग गोदाम व्यवस्थापनको माग गरी खरिद गरिएको धान राखिरहेका छौं ।’

आर्थिक वर्ष ०८१÷०८२ मा ३७ हजार ९ सय क्विन्टल धान खरिद गरिएको थियो । त्यसअघिको वर्षमा खरिद गरिएको धानबाट उत्पादित ३० क्विन्टल चामल गत आर्थिक वर्षमा हिमाली तथा पहाडी जिल्लामा पठाइएको कम्पनीले जनाएको छ ।