‘सातौं लुम्बिनी महोत्सव–२०८२’ को तयारी पुरा, भोलिदेखि महोत्सव सुरु


भैरहवा–‘स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ बुधवार (भोलि) देखि सुरु हुने ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ को तयारी पुरा भएको छ ।
महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) ले महोत्सवको पूर्वसन्ध्यामा बुधवार पत्रकार सम्मेलनको आयोजना गरि यसवारेमा विविध जानकारी दिँदै तयारी पुरा भएको जनाएको हो ।
महोत्सव मूल समारोह समितिका संयोजक तथा चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवका लागि ९० प्रतिशत भन्दा धेरै तयारी पुरा भएको बताए । ‘बाँकी गर्नु पर्ने तयारीका कार्य पनि रातभरीमा सकेर भोलीसम्ममा पूर्ण तयारी गराइने छ’, रोक्काले भने, ‘महोत्सवलाई पूर्ण सफल बनाउन सवै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेका छौं ।’ उनका अनुसार महोत्सवको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधान सभा सदस्य ईश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयबाट एकसाथ गराइने छ ।
महोत्सवको सहप्रायोजक एस.आर. स्टिल एण्ड फुड्स प्रा.लि. र रिया एण्ड रक्षा फुड प्रा.लि. रहेका छन् । मंसिर २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्ने मुख्य उद्देश्य छ ।
महोत्सव स्टल व्यवस्थापन समितिका संयोजक तथा संस्थाका बरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सवमा स्टल राख्ने व्यवसायीको बढ्दो संख्याले व्यवस्थापन गर्न समस्या भएको दावी गरे । ‘स्टल राख्न चाहने व्यवसायीको बढ्दो संख्याले हामीले पहिला निर्धारण गरेको भन्दा धेरै संख्यामा बढाउनु पर्यो’, यादवले भने, ‘यसका लागि बैठकबाटै स्टल थप गर्ने निर्णय गर्नु पर्यो ।’
यादवका अनुसार महोत्सवमा उद्योगतर्फ १ सय, कृषि २०, पर्यटन ४०, संघसंस्था २०, बैंक बित्तीय १० र व्यापार तर्फका १ सय ६० गरि ३ सय ५० वटा स्टल रहने छन् ।
महोत्सवका लागि गरिने अनुमानित लगानी १ करोड रुपैयाँ छ भने १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवबाट ५ करोड रुपैयाँको कारोवार हुने लक्ष्य राखिएको छ । यो महोत्सवको बिशेष आकर्षण जलपरी, फिसटनेल, बालउद्यान र स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती छ ।

साँस्कृतिक उपसमिति संयोजक तथा संगठनका सल्लाहकार नारायणप्रसाद भण्डारीले सांस्कृतिक कार्यक्रमका लागि मञ्च ११ देखि ३, ३ देखि ५ र ५ देखि ८ बजेसम्म क्रमशः स्थानीय बिद्यालय स्तरीय नृत्य तथा कार्यक्रम, प्रदेश स्तरीय नृत्य तथा कार्यक्रम र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने जानकारी दिए । उनका अनुसार महोत्सवमा प्रिती पासवान, एलिना चौहान, दुर्गेश थापा, हेमन्त शर्मा, स्थानेश्वर गौतम लगायतका कलाकारको प्रस्तुती रहने छ ।
लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा बृद्धि गराइ स्थानीय बस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण नबिन प्रबिधि र ओैद्योगिक उपकारणका वारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने मुख्य उद्देश्य महोत्सवको छ ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले महोत्सवमा घरेलु तथा हस्तकलाका उत्पादनलाई प्राथमिकता दिँदै नव उद्यमीकर्ताका लागि महोत्सव बिश्व बिद्यालयको रुपमा सिक्ने स्थल बन्नु पर्ने बताए । संगठनका निबर्तमान अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवमा सरसफाइ लगायत खाद्यबस्तुको गुणस्तरीतामा बिशेष ख्याल गरि प्रभावकारी रुपमा अनुगमन गरिने बताए ।








प्रतिकृया दिनुहोस्